साउन १० गतेदेखि लगातार अवरोध हुँदै आएको प्रतिनिधि सभाको बैठक आज चल्ने भएको छ।
संसद बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसदलाई नियमित कार्यसूचीमा लैजान सबै दलहरू सहमत भएका हुन्।
सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार आजको बैठकमा सुरूमा दलीय आधारमा एक-एक जना सांसदले बोल्ने तय भएको छ।
सांसदहरूले बोलिसकेपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदमा उठेका प्रश्नको जवाफ दिनेछन्।
गृहमन्त्री श्रेष्ठले दिएको जवाफलाई हेरेर त्यसपछि संसद चल्न दिने कि नदिने भन्ने निर्णय गर्ने प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले बताएको छ।
गत साउन २ गते त्रिभुवन विमानस्थलबाट झन्डै १ क्विन्टल सुन बरामद् भएको थियो। उक्त सुन प्रकरणको छानबिन गर्न एमालेले उच्चस्तरीय छानबिन समिति बनाउन माग गरेको छ। सत्ता पक्षले भने सरकारी संयन्त्रले नै अनुसन्धान गरिरहेकाले अलग्नै समिति बनाउनु नपर्ने बताउँदै आएको छ।
यही विषयमा सभामुख घिमिरेसहित शीर्ष नेताहरूबीच मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको थियो। उक्त छलफलमा समिति बनाउने विषयमा सहमति हुन सकेन।