काठमाडौँ । तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ घोषणा गर्दै नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सम्पन्न भएको छ । गत बुधबारबाट सुरु भएको माओवादी बैठक पाँच दिन चलेर आइतबार सम्पन्न भएको हो ।


बैठकले नेताहरुको कार्यविभाजन गर्नुका साथै ‘जनतासँग विशेष रुपान्तरण अभियान’को घोषणा गरेको छ । उक्त अभियानमा अध्यक्ष प्रचण्डदेखि सबै केन्द्रीय सदस्यहरु वडावडामा पुगेर जनतासँग जोडिने छन् ।
‘प्रचण्ड’ले पाँच दिनसम्म चलेको बैठक सोचेको भन्दा सजीव र जीवन्त रुपले सम्पन्न भएकोमा आफूलाई खुसी लागेको बताए ।
‘यो बैठकमा बहसहरु भए । बहस र छलफलबाट हामी नयाँ सम्भावना र निष्कर्षमा सफलताका साथ आइपुगेका छौँ’, उनले भने, ‘हाम्रो पार्टीको नेतृत्वमा सरकार छ । यो सरकारले सुशासन, सामाजिक न्याय र सम्मृद्धितर्फ लैजाने काम गरेर जनतामा नयाँ भावना जगाएको छ ।’
बैठकको समापन गर्दै अध्यक्ष प्रचण्डले बैठकले पार्टीभित्रका विभिन्न प्रश्न, अन्योल, आशंका र नेतृत्वबीचका अन्तरमा खुलेर छलफल गर्ने काम भएको भन्दै जनवादको उच्चतम थलोका रुपमा बैठक रुपान्तरण भएको पनि बताए ।