काठमाडौं महानगरपालिकाले माइतीघरमा धर्ना बस्नेहरूका लागि अस्थायी शौचालयको व्यवस्थापन गरेको छ।
बिहीबार माइतीघर मण्डलमा धर्ना बस्ने मानिसहरूलाई मध्यनजर गर्दै अस्थायी शौचालयको व्यवस्थापन गरिएको काठमाडौं- ११ का वडाध्यक्ष हिरालाल तण्डुकारले जानकारी दिए।
उनका अनुसार ५-६ दिनअघि उक्त शौचालयको व्यवस्थापन गरिदिएको हो।
‘त्यहाँ धर्ना बसेको मान्छेले शौचालय व्यवस्थापन गर्दिनु पर्यो भनेर भनेका थिए,’ उनले भने, ‘त्यसैले अहिले महिला र पुरूष दुइटा पोर्टेबल शौचालय राखेका हौं। पछि राम्रो सार्वजनिक शौचालय बनाउने हाम्रो योजना छ।’
शौचालयको फोहोर दिनहुँ निकाल्ने गरेको र आवश्यक पर्ने पानीको पनि व्यवस्थापन गरेको उनले बताए।
केही समयअघि माइतीघर मण्डलमा आन्दोलन गर्न आउनेहरूले शौचालयको व्यवस्थापन नभएको बताएका थिए। शौच जानुपर्ने पिरले खानपिनमा समेत कडाइ गरेको उनीहरूको भनाइ थियो।