कम्बोडियामा ३८ वर्षदेखि शासन गरिरहेका प्रधानमन्त्री सामदेक टेचो हुन सेनले प्रधानमन्त्री परित्याग गर्ने घोषणा गरेका छन् । हुन सेनले अगस्ट २२ देखि कार्यकारी प्रधानमन्त्री पद त्याग्ने बुधबार बताए । उनले आफ्नो जेठो छोरा हुन मानेटलाई सत्ताको बागडोर सुम्पिने पनि बताएका छन् ।
हुन सेन प्रधानमन्त्री नरहे पनि सत्तारुढ ‘कम्बोडियाली पिपुल्स पार्टी (सिपिपी)’को अध्यक्षका रूपमा शक्ति अभ्यास गर्नेछन् । आगामी फेब्रुअरी २५ मा हुने सिनेट निर्वाचनपछि ७० वर्षीय हुन सेन सिनेटको अध्यक्ष हुने बताएका छन् । सन् २०२३–०२८ को कार्यकालका लागि १२५ सदस्यीय राष्ट्रिय सभाका लागि आइतबार भएको सातौँ आमनिर्वाचनमा सिपिपीले सानदार जित हासिल गरेको छ ।
राष्ट्रिय निर्वाचन समिति (एनइसी) ले बुधबार सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार सिपिपीले ७७ लाख ७० हजार मतको ८२.३ प्रतिशत अर्थात् करिब ६४ लाख मत प्राप्त गरेको छ । निर्वाचनमा पाएको मतका आधारमा सिपिपीले १२० संसदीय सिट जितेको छ भने प्रिन्स नोरोडोम चक्रवुथको नेतृत्वको फनसिनपेक पार्टीले बाँकी पाँच सिट जितेको छ । nayaptrika