बैतडीको सुर्नया गाउँपालिका–६ को वडा कार्यालय सारिएपछि विरोध भएको छ । स्थानीयहरुलाई बिना जानकारी आफुखुसी वडा कार्यालय सारिएको भन्दै त्यहाँका स्थानीयहरुले विरोध जनाएका छन् । वडा कार्यालय रहेको पुरानो ठाउँ लम्भ्वाबाट वडा जनप्रतिनिधिहरुले आफखुसी शिवालय भन्ने स्थानमा वडा कार्यालय सारेको स्थानीहरुले बताएका हुन् ।
कार्यालय अन्यत्र सारिएपछि निवर्तमान वडा अध्यक्ष जय बहादुर कुँवरको संयोजकत्वमा संघर्ष समिति गठन गरेर आन्दोलित समेत बनेका छन् ।
वडा अध्यक्षले साउन ४ गते वडा कार्यालय सारेको बताएका छन् । पुरानो वडा कार्यालय रहेको ठाउँमा इन्टरनेटको सुबिधा नरहेको र अनलाईनबाट प्रदान गरिने सेवाहरु प्रभावित हुन थालेपछि अस्थायी रुपमा शिवालय भन्ने स्थानमा वडा कार्यालयको कामकाज गर्न लागिएको वडा अध्यक्ष मदनराज अवस्थीले बताए । पुरानो र नयाँ सारिएको कार्यालयको दूरी ५ सय मिटरको मात्रै फरक रहेको पनि वडा अध्यक्ष अवस्थीले बताए । वडा कमिटिको बैठकबाट नै यस्तो निर्णय गरिएको उनले बताए । अस्थायी रुपमा मात्रै वडा कार्यालय सारिएको र नयाँ उपयुक्त ठाउँमा जग्गा खोजेर सबैको पायक पर्ने स्थानमा स्थायीरुपमा वडा कार्यालय स्थापना गरिने वडा अध्यक्ष अवस्थीले बताए ।
विरोधमा उत्रिएका स्थानीयहरुले जनताहरुले सबैको पायक पर्ने स्थान खालिडाँडामा वडा कार्यालय स्थापना हुनु पर्ने माग राखेका छन् । अन्यथा थप संघर्षका कार्य अघि बढाइने चेतावनी समेत दिएका छन् ।
नयाँ ठाउँमा जग्गा प्राप्त भएपछि स्थायी वडा कार्यालय स्थापना गरिने वडा अध्यक्ष अवस्थीले बताए । सबैको सुझाव सल्लाहका आधारमा नयाँ वडा कार्यालय स्थापना गरिने उनले बताए ।