निजी विद्यालयहरुले मासिक शुल्क तथा विभिन्न शुल्कमा आफूखुसी शुल्क बढाएको गुनासो आएपछि बुटवलका मेयर खेलराज पाण्डेले आफ्नो क्षेत्रमा रहेका सबै स्कुलका प्राचार्यलाई बोलाएर कुनै प्रकारका शुल्क नबढाउन निर्देशन दिएका छन् ।
पाण्डेयले संस्थागत विद्यालयले मनपरी रूपमा शुल्क लिएको गुनासो बढेको भन्दै नगरले तय गरेभन्दा बढी रकम नलिन निर्देशन दिएका हुन् । मनपरी रूपमा शुल्क लिनेहरूलाई कानूनी दायरामा ल्याएर आवश्यक कारबाही अगाडि बढाउने उनले प्रष्ट्याए । समय सापेक्ष नगरको शिक्षा ऐन परिमार्जन गर्दै विद्यालय शिक्षालाई अझ बढी स्तरीय बनाउँदै लैजाने उनले प्रतिबद्धता जनाए ।
विद्यालय शिक्षा सुधार गर्दै बुटवललाई शिक्षामा अगुवा सहर बनाउनका लागि संस्थागत विद्यालयले गुणस्तर र सीपमूलक शिक्षामा जोड दिनुपर्ने बताए ।
उनले विद्यार्थीलाई पोसाक र पुस्तक खरिदमा निश्चित पसलमा जान बाध्यकारी नियम लागू नगर्न पनि भनेका छन् ।
‘विद्यालयले किताब, कापी र पोसाक बेच्ने र आफूअनुकूलका पसलहरूबाट खरिद गर्नका लागि सिफारिस गर्ने र बाध्यकारी बनाउने काम नगर्नुहोला,’ उनले भने, ‘विद्यालय सुधार गर्नका लागि विद्यालयको प्रशासनिक कुरामा सुधार ल्याउनुस्, विद्यालयभित्रैबाट बाध्यकारी हुने अवस्था सिर्जना नगर्नुहोस् ।’
विद्यालयको क्षमता, भौतिक पूर्वाधार, ल्याव, शिक्षकको जनशक्तिलाई ध्यानमा राखेरमात्रै विद्यार्थी भर्ना गर्न उनले सुझाए ।