काठमाडौं । प्रहरी हिरासतमा रहेका रौतहटका २८ वर्षीय खजयन्ती पासवानले ‘पैसा आइहाल्छ कि भनेर राजनीतिक पार्टीको नाम जोडेर बम जस्तो वस्तु’ राखेको बयान दिएका छन् ।
सिनामंगलस्थित खोटाङ हलेसी सुनचाँदी पसलमा अगाडि बुधबार शंकास्पद वस्तु राखेको आरोपमा पक्राउ परेका पासवानले आफू वैदेशिक रोजगारीबाट फर्किएपछि आर्थिक समस्यामा परेको प्रहरीसँग बयानमा बताएका छन् ।
‘मेरा डेरा सिनामंगलमै थियो, बोर्डमा मोबाइल नम्बर देखेँ । त्यसपछि पैसा आइहाल्छ कि भन्ने भएर फोन गरेको थिएँ’, पासवानको बयान उदृत गर्दै प्रहरी वृत्त, गौशालाका एक अधिकृतले भने, ‘५ लाख माग्दा दिन नमानेपछि तर्साउनलाई भोलिपल्ट बिहान लगेर राखेको थिएँ ।’
घटनास्थलमा ‘नेपाल उत्थान क्रान्तिकारी पार्टी’को नाम उल्लेख गरिएको पर्चा प्रहरीले बरामद गरेको थियो । त्यसरी राखिएको पर्चामा ‘आरडीएक्स बारुद राखिएको’ भनिएको थियो । त्यसबारे सोध्दा पासवानले त्यस्तो लेख्दा मान्छेले विश्वास गर्लान् भन्ने लागेर लेखेको बताएका छन् ।
शंकास्पद वस्तु राखेपछि निकैबेरसम्म आफू त्यहीँ बसेको उनले बताएका छन् । पौन १० बजेतिर प्रहरी आएपछि पनि उनी भिडमा अरुसँगै बसिरहेका थिए । सेनाको बम डिस्पोजल टोलीले बम डिस्पोज गरेको हेरिरहेका बेला उनलाई प्रहरीले पक्राउ गरेको थियो ।