सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटना आधाले घटेको छ। गएको तीनवर्षको तथ्यांक हेर्दा यहाँ सवारी दुर्घटना घटेको पाइएको छ। गत आर्थिक वर्ष २०७९/०८० मा यहाँ दुईसय ४९ सवारी दुर्घटना भएका छन्। यो अघिल्लो वर्ष २०७८/०७९ भन्दा आधा भन्दा कम रहेको प्र्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ।
आर्थिक वर्ष २०७८/०७९ मा यहाँ पाँचसय १ सवारी दुर्घटना भएकोमा गत आव २०७९/०८० मा घटेर दुईसय ४९ पुगेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख तथा प्रहरी उपरिक्षक ९एसपी० नेत्रमणी गिरीले जानकारी दिनुभयो। यस्तै आर्थिक वर्ष २०७७/७८ मा पाँच सय ५८ सवारी दुर्घटनामा भएका थिए।
सवारी दुर्घटना कमी भएसंगै अंकभंग र मृत्यु हुनेको संख्या पनि घटेको छ । गत आर्थिक वर्ष २०७९/०८० मा यहाँ दुईसय ४९ सवारी दुर्घटनामा परेर एकसय ७७ जनाको मृत्यु भएको छ भने चारसय ६३ घाइते भएका छन्।
आर्थिक वर्ष २०७८/०७९ मा पाँचसय एक सवारी दुर्घटनामा एकसय ९६ जना ज्यान गुमाएका छन्। आर्थिक वर्ष २०७७/७८ मा पाँच सय ५८ सवारी दुर्घटनामा एकसय ८६ जनाको मृत्यु भएको छ। भने सयौं अंगभंग भएका छन्।
ट्राफिक प्रहरीको सक्रियताले दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको प्रहरी उपरिक्षक ९एसपी गिरीको दाबी रहेको छ। उहाँले भन्नुभयो,“ट्राफिक प्रहरी सडकमा बढी खटिएकोले सवारी दुर्घटनामा कमी आएको हो । हामीले गरेको जनचेतनामूलक कार्यक्रम पनि फलदायी भएको छ। ”
गत आवमा प्रदेशभरी चार हजार ६३ जनचेतनामस्लक कार्यक्रम सञ्चालन गरिएका छन् । जुन अघिल्लो वर्षको तुलनामा तीन हजारले बढी रहेको छ। अघिल्लो आवमा एक हजार मात्रै जनचेतनामूलक कार्यक्रम गरिएका प्र्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। उहाँले भन्नुभयो,“ हामीले दुर्घटना न्यूनीकरणकै लागि भनेर एक वर्षमा चारहजार बढी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्यौं, त्यसले पनि दुर्घटना कम भएको हामीले महसुस गरेका छौं। ” सवारी दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल र सबैभन्दा कम बसहरु दुर्घटनामा परेका छन्।
यात्रुवहाक बसहरु दुर्घटना नपर्नुले पनि ठूलो जनधनको क्षति हुनबाट जोगिएको हो। दुर्घटना न्यूनीकरणका लागि विभिन्न प्रयास भइरहेका छन्। सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले छड्के चेकजाँच, टाईम कार्डदेखि ‘रिफ्रेस रेन्टर’को अभ्यास भइरहेको प्रमुख गिरीको भनाई छ। दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले विद्यालय स्तरमा जनचेतनामूलक कार्यक्रम र यातायात व्यवसायी र चालकलाई समेत बेलाबेलामा सचेत गराउने कार्य गरेको छ। उहाँले भन्नुभयो,“ नियमित चेकसँगै जनचेतनामूलक सन्देश दिँदै आएका छौं, प्रदेशभरी विभिन्न सडकखण्डमा सचेतनामूलक होडिंग बोर्ड राखेका छौं, चालकसंग एकमिनेट कार्यक्रम सञ्चालनमा छ।”
दुर्घटनाका मुख्य कारण ट्राफिक नियमको पालना नगर्नु, सवारी साधानको चाप बढ्दै जानु, यात्रु र चालकको दुवैको लापरबाही र सडकको अवस्थालगायतका कारण रहेका छन्। दुर्घटना न्यूनीकरण लागि सडक पूर्वाधार सुधारको खाचो रहेको प्रदेश प्रमुख गिरीले बताउनुभयो। उहाँले भन्नुभयो,“ साघुँरा सडक फराकिलो गर्ने, घुम्ती कटिंग सुधार गर्नतर्फ सरकारको ध्यान दिनु आवश्यक छ। यसका तीनवटै तहका सरकार जिम्मेवार बन्नुपर्छ । ”
कारबाहीबाट साढे छ करोड राजश्व संकलन
सुदूरपश्चिम प्रदेशमा एक वर्षमा करिब साढे ६ करोड सवारी कारबाहीबाट राजश्व संकलन भएको छ। प्रदेश ट्राफिक कार्यालयका प्रमुख गिरीका अनुसार गत आर्थिक वर्ष २०७९/०८० मा सवारी कारवाहीबाट ६ करोड ४२ लाख १२ हजार राजश्व संकलन भएको छ। यो आर्थिक वर्ष २०७८/०७९ भन्दा एक करोडले बढी हो । सो वर्ष पाँच करोड ४१ लाख ९४ हजार राजश्व संकलन भएको थियो। प्रदेशमा गत आवको एक वर्षको अवधिमा १५ हजार नौसय ६० नयाँ सवारीसाधन दर्ता समेत भएका छन्।
सवारी साधन थपिदै जानु र ट्राफिक प्रहरीको उपस्थिती बढी हुनुले राजश्व संकलन बढेको जनाएको छ। सुदूरपश्चिममा एकसय ८८ जनाको मात्रै दरबन्दी रहेको भएपनि हाल दुईसय ६३ ट्राफिक प्रहरी कार्यरत रहेका छन्। प्रदेशभरीका नौ जिल्लामा गरेर ५५ वटा ट्राफिक इकाईहरु रहेका छन्। यस प्रदेशको कैलाली, कञ्चनपुर र डोटीमा चालु आर्थिक वर्षदेखि ट्राफिक भोइलेन्स रेकर्ड सिस्टम टिभीआरएस प्रणाली लागू गरिएको छ।
सवारी नियम उल्लंघनका कसुरहरुको जरिवानावापतको रकम बैकिङ प्रणालीबाट भुक्तानी गर्न यो प्रणाली लागू गरिएको गिरीको भनाई छ। उहाँले भन्नुभयो,“साउन १ गतेदेखि प्रहरी प्रधान कार्यालयले सवारी नियम उल्लंघन कसुरमा भराउने सबै प्रकारका जरिवानावापतको राजश्वलाई बैकिङ्ग प्रणालीमा जोडेको हो। यदि कुनै सवारी कारवाहीमा परे उसले बैंकिङ प्रणालीबाट राजश्व जम्मा गरेपछि मात्रै कागजात र सवारी छुट्नेछ। ”
यो सिस्टमका आधारमा कारवाही सुरु हुन्छ, त्यसपछि सवारी नियम उल्लंघनको विवरण, सवारी चालक अनुमतिपत्र नवीकरणको विवरण, कारवाहीमा परेको विवरण देशभरमा हेर्न सकिने जनाएको छ।