भारतको पिथौरागढमा सम्पन्न नेपाल–भारत समन्वय बैठकमा झुलाघाट नाका बिहान ६ बजे खोल्ने सहमति भएको छ । नेपालको बैतडी र दार्चुला तथा भारतको पिथौरागढ जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले बैतडीसँग जोडिएको झुलाघाट नाका खोल्नेबारे सहमति भएको हो ।
यसअघि झुलाघाट नाका बिहान ७ बजे मात्रै खुल्ने गरेको थियो । बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले नेपाल–भारत सीमामा रहेको झुलाघाट पुल एक घन्टाअघि खोल्ने सहमति भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘झुलाघाट पुल अब बिहान ६ बजे खुल्ने र बेलुका ७ बजे बन्द हुनेछ । यसले दुवै देशका नागरिकलाई सहज हुनेछ ।’
यसअघि बिहान ७ बजे नाका खुल्दा दुवै देशका नागरिकलाई समस्या हुने गरेको थियो । भारतमा उपचार र किनमेलका लागि जाने नेपाली नागरिकलाई बढी समस्या हुने गरेको थियो ।
यस्तै विपद् उद्धार तथा प्रतिकार्यका लागि महाकाली नदीमा रबर बोट तथा डुङ्गा सञ्चालन गर्न सकिने सहमति भएकाे छ । विपद्को समयमा दुवै देशका सुरक्षा निकाय मिलेर उद्धार तथा अन्य कार्यमा सहकार्य गर्ने, महाकाली नदीलाई स्वच्छ राख्न महाकाली नदीमा फोहर नफाल्ने, सीमा क्षेत्रमा हुनसक्ने मानव तस्करी, वन्यजन्तु तस्करीलगायतका गैरकानुनी क्रियाकलाप रोक्नका लागि संयुक्त गस्ती गर्ने, आपसी सहयोग र सहकार्य गर्ने, झुलाघाटमा रहेकाे सयौँ वर्ष पहिला बनेको झोलुङ्गे पुलको मर्मतसम्भारका लागि दुवै देशले प्राविधिक समिति गठन गरेर त्यसको मर्मतसम्भार गर्नेसमेत सहमति भएको प्रजिअ पन्थीले जानकारी दिनुभयो ।