काठमाडौँ — दक्षिण र मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले एकदिने नेपाल भ्रमण क्रममा शुक्रबार गरिएका उच्चस्तरीय भेटवार्तामा अमेरिकी सहायता नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौतालाई कार्यान्वयन गर्न जोड दिएका छन् ।

लुले सत्तारूढ कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओली र परराष्ट्रमन्त्री एनपी साउदसँगको भेटवार्तामा नेपालको ऊर्जा तथा पूर्वाधार विकासमा ५०० मिलियन अमेरिकी डलर अनुदान सहयोगको एमसीसी कार्यान्वयनको विषय उठाएका हुन् ।
पत्नीशोकमा परेका प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भने मन्त्री लुले राजनीतिक र एमसीसीबारे कुरा गरेनन् । आफू, राष्ट्रपति जो बाइडेन र अमेरिकी जनताका तर्फबाट समवेदना प्रकट गरे । जवाफमा दाहालले दुई मुलुकबीच लामो र ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गर्दै संवेदनशील घडीमा समवेदना दिन आएकामा लु, अमेरिकी राष्ट्रपति र जनतालाई धन्यवाद दिएको बैठकमा सहभागी प्रधानमन्त्रीका स्वकीय रमेश मल्लले जानकारी दिए ।
एमसीसी संसद्बाट अनुमोदनअघि लु २०७८ मंसिरमा नेपाल आएका थिए । सोही वर्षको फागुन १५ मा एमसीसी सम्झौता संसद्बाट अनुमोदन भएको थियो । २०७८ माघ २७ मा लुले तत्कालीन प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालसँग एमसीसी अनुमोदनलाई लिएर टेलिफोन संवाद गरेका थिए । नेपालमा एमसीसी अनुमोदन भएर आगामी भदौ दोस्रो साताबाट कार्यान्वयनमा जानेछ भने सम्झौता कार्यान्वयन अवधि ५ वर्षको हुनेछ । लुको भ्रमण यही विषयमा केन्द्रित देखिन्छ ।
लुले कांग्रेस सभापति देउवासँग धुम्बाराहीमा गरेको भेटवार्तामा एमसीसी सम्झौता कार्यान्वनदेखि नेपाल–अमेरिका सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल गरेका थिए । देउवाको सचिवालयका अनुसार भेटमा नेपाल–अमेरिका सम्बन्ध, लोकतन्त्र र मानव अधिकारको विषयमा पनि कुराकानी भएको थियो । एमाले अध्यक्ष ओलीसँग पार्टी कार्यालयमा भएको भेटवार्तामा मन्त्री लुले एमसीसी परियोजना कार्यान्वयन हुँदै गरेकामा धन्यवाद व्यक्त गरे ।
लुले परियोजना कार्यान्वयनमा जान लागेको जानकारी पनि ओलीलाई गराएका थिए । ‘लु शिष्टाचार भेटका लागि आउनुभएको थियो । उहाँले एमसीसी परियोजना कार्यान्वयनमा जान लागेको भन्दै त्यसका लागि धन्यवाद व्यक्त गर्नुभयो । हाम्रोतर्फबाट पनि धन्यवाद व्यक्त गरियो,’ बैठकमा सहभागी एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले भने ।
लुले परराष्ट्रमन्त्री एनपी साउदसँग लामो कुराकानी गरेका छन् । उनीहरूबीच सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको थियो । मन्त्री साउदसँग लुले एमसीसी कार्यान्वयनबारे चासो राखेको स्रोतले बतायो । बैठकमा सहभागी एक पदाधिकारीका अनुसार लुले सन् २०२६ मा नेपाल अल्पविकसित मुलुकहरूको सूचीबाट स्तरोन्नति हुने र त्यसपछि पनि अमेरिकी सहयोगको निरन्तरता र बढोत्तरीको वाचा गरे ।
भेटमा मन्त्री साउदले नियमित सहयोग र कोभिड–१९ को संकटमा प्राप्त सहयोगका लागि कृतज्ञता व्यक्त गरेका थिए । लुको भ्रमणलाई लिएर काठमाडौंस्थित अमेरिकी दूतावासकी प्रवक्ता आना रिची–एलेनले पाँच वर्षभित्र अत्यावश्यक विद्युतीय पूर्वाधार उपलब्ध गराउने, सडक मर्मतसम्भारको क्षमतामा सुधार गर्ने र हजारौं रोजगारी सिर्जना गर्ने बताइन् ।
परराष्ट्रमन्त्री साउद, ओली र देउवासँग लुले लोकतन्त्रका लागि शिखर सम्मेलनमा नेपालले हासिल गरेका उपलब्धि, मानवअधिकार संरक्षणको पछिल्लो समय सुदृढीकरण र आगामी अगस्टमा कार्यान्वयन सुरु हुने एमसीसी कम्प्याक्टको हालसम्मको प्रगतिका बारेमा छलफल गरेको उनले कान्तिपुरलाई बताइन् । कूटनीतिक संलग्नताहरू सुरक्षित, समृद्ध र प्रजातान्त्रिक मूल्यमान्यतालाई अगाडि बढाउन अमेरिका–नेपाल र क्षेत्रीय साझेदारीलाई सुदृढ गर्ने नियमित हिस्सा रहेको बताइन् ।
Kantipur