काठमाडौं । विद्युतीय व्यापार विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमा छलफल हुँदा सदस्यहरुले बिजुली व्यापारको विषयमा बहस गरेको घटनालाई नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले लज्जास्पद भनेका छन् ।
बिहीबार राष्ट्रियसभामा विद्युतीय व्यापार विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमा छलफल हुँदा सदस्यहरुले बिजुली व्यापारको विषयमा बहस गरेका थिए ।
आफ्नै कार्यकक्ष सिंहदरबारमा पत्रकारसित कुरा गर्दै नेम्वाङले भने, ‘यो हामी सबैका लागि लज्जास्पद हो ।’
विधेयकमाथिको छलफलमा भाग लिँदै नेकपा एमालेका सांसदहरु विमला घिमिरे, भगवती न्यौपाने, तुलसाकुमारी दाहाल तथा कांग्रेस सांसद जितेन्द्रनारायण देवले बिजुली व्यापारको कुरा गरेका थिए ।
सांसदहरुले सैद्धान्तिक छलफलमा धारणा राखिसकेपछि जवाफ दिन आएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले समेत बिजुली व्यापारकै कुरा गरे ।
नेम्बाङले सरकारका सम्बद्ध मन्त्रीलाई आफूले पेश गरेकै विधेयकको विषय नै थाहा नहुनु लज्जास्पद भएको भन्दै मन्त्री रिजालले नैतिक जिम्मेवारी लिनु पर्ने बताए ।
बैठकमा विधेयकको विषय भन्दा फरक विषयमा सांसदहरुले धारणा राखे पनि बैठकको अध्यक्षता गरिरहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कुनै प्रतिक्रया जनाएका थिएनन् ।
नेम्बाङले सभाका अध्यक्षको नाम नलिए पनि उनीतिर लक्षित गर्दै विषयवस्तुभन्दा बाहिरको बहस रोक्ने नियमावलीमा व्यवस्था रहेको स्मरण गरे ।