राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तेस्रोपटक केन्द्रीय समिति विस्तारको तयारी गरेको छ।
रास्वपाले केही सांसदहरूलाई केन्द्रीय समितिमा लैजाने तयारी गरेको हो।
‘हामी सांसदको जिम्मेवारीमा रहेका केहीलाई केन्द्रीय समितिमा लैजान सकारात्मक छौं, त्यसबारे छलफल भइरहेको छ,’ पार्टी उपसभापति डोलप्रसाद (डिपी) अर्यालले सेतोपाटीसँग भने।
सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले केन्द्रीय समिति सदस्यको जिम्मेवारीमा नरहेका १४ जनालाई नै थप्न प्रस्ताव आए पनि केहीलाई मात्रै लैजाने तयारी रहेको बताए।
‘संसदमा र पार्टीको संगठन निर्माण र परिचालनमा पुर्याएको योगदान हेरेर केन्द्रीय समितिमा लैजाने कि भनेर कुराकानी भएको हो, यसबारे थप छलफलचाहिँ भएको छैन,’ उनले सेतोपाटीसँग भने।
उनले पनि सबै सांसदलाई केन्द्रीय समिति सदस्यको जिम्मेवारी भने नदिइने बताए।
२१ जना संघीय सांसदमध्ये ६ जना मात्रै केन्द्रीय समितिमा छन्।
इन्दिरा रानामगर उपसभामुख छिन् भने १४ जना सांसद केन्द्रीय समितिभन्दा बाहिर रहेका छन्।
त्यसमध्ये तनहुँ-१ बाट उपचुनाव जितेका डा. स्वर्णिम वाग्ले, चितवन-१ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हरि ढकाल, काठमाडौं ८ बाट निर्वाचित तथा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, काठमाडौं-६ बाट निर्वाचित शिशिर खनाललाई केन्द्रीय समितिमा समेट्ने तयारी रहेको रास्वपाका नेता बताउँछन्।
त्यस्तै प्रमुख सचेतक सन्तोष परियार र मनिष झा पनि थपिने केन्द्रीय सदस्यको सूचीमा छन्।
पछिल्लोपटक गत फागनु १ गते रास्वपाले केन्द्रीय समितिमा १६ जना थपेको थियो। त्यतिबेला सांसदहरूसहित १०० जना प्रस्ताव गरिएको नेताहरूले बताए।
केन्द्रीय समितिमा झण्डै दुई तिहाइ सदस्य रिक्त
रास्वपाको विधानको धारा २३ को उपधारा २ मा केन्द्रीय समिति १ सय २१ सदस्यीय रहने व्यवस्था छ। रास्वपाको केन्द्रीय समिति अहिले ३९ सदस्यीय छ।
विधानअनुसार ८२ जना सदस्य थप्न सकिने अवस्था छ।
आवश्यकता हेरेर केन्द्रीय समितिको आकार बढाउँदै लैजाने सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
‘विधानमा भएकै व्यवस्थाअनुसार आकार बढाउनेभन्दा पनि आवश्यकताअनुसार थप गर्दै जाने हो, अहिले केही सांसदलाई केन्द्रीय समितिमा लैजानेगरी तयारी गरिरहेका छौं,’ उनले भने।
रास्वपाले आगामी मंसिरभित्र महाधिवेशन गर्ने लक्ष्य लिएको छ।
विधानको व्यवस्था महाधिवेशनबाट लागु हुनसक्ने पनि बुर्लाकोटीले बताए।
१२१ सदस्यीय केन्द्रीय समितिमा प्रदेश प्रदेशबाट ७–७ जना गरी ४९ सदस्यीय निर्वाचित हुने, त्यस्तै ५० जना खुला क्षेत्रबाट निर्वाचित हुने विधानमा व्यवस्था छ।
त्यस्तै सभापतिले २२ जना केन्द्रीय सदस्य थप गर्न सक्ने व्यवस्था धारा २३ को उपधारा २ को (ग) मा छ।
रास्वपाको सभापति निर्वाचित हुन कुल सदर मतको ५१ प्रतिशत प्राप्त गर्नुपर्ने छ।
१२१ मा एक तिहाइ महिला र ६१ जना युवा हुनुपर्ने प्रावधान विधानमा छ भने केन्द्रीय समितिमा नेपालको विविधता प्रतिविम्बित हुनुपर्ने बताइएको छ।