काठमाण्डौको कोटेश्वर चक्रपथमा टाउकोमा पहेंलो टोपी लगाएका केही प्राविधिकहरु दायाँबायाँ राखिएका दुई वटा भर्याङ चढेर काममा तल्लीन छन् । तलबाट इन्जिनियरलगायतको टिम उनीहरुको काम हेर्न र निर्देशन दिनमा व्यस्त छन् ।
काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले तीव्र गति नियन्त्रणका लागि ‘अटोमेटिक नम्बर प्लेट रिकग्निसन सिस्टम विथ डिटेक्स’ (एएनपीर) जडान गर्दै गरेको दृष्य हो यो । यस उपकरणले तीव्र गतिमा हुँइकिरहेको गाडीको पहिचान गरी त्यसको अभिलेख ट्राफिक प्रहरी कार्यालयको नियन्त्रण कक्षमा रहेका सर्भरमा पुर्याउँछ ।
भर्याङ चढेर काम गर्दै गरेका प्राविधिकलाई निर्देशन दिइरहनु भएको छ ई थ्री सेल्स एण्ड सर्भिसेजका प्रोजेक्ट सुपरभाइजर रञ्जित सिंह ।

उहाँका अनुसार अहिले चक्रपथका तीन स्थानमा ‘एएनपीर बेस्ड, राडार बेस्ड सिस्टम’ का क्यामरा जडान भएको छ । यसको काम भनेको सडकमा भएको गतिविधिलाई २४ सै घण्टा निगरानी गर्नु हो ।
उहाँ भन्नुहुन्छ, ‘तीव्र गति तथा दुर्घटना नियन्त्रणका लागि ट्राफिक प्रहरीका तर्फबाट यो सिस्टम जडान भएको हो । यसले अब ट्राफिक प्रहरीलाई २४ सै घण्टा सडकमा उभिनु पर्दैन । यसको सबै डाटा सर्भरमा रेकर्ड हुन्छ ।’
अहिले चक्रपथको कोटेश्वर, थसिखेल र धोबीघाट नयाँबाटोमा यो प्रणाली जडान गरिएको छ । थसिखेल र नयाँ दोबाटोमा जडान सम्पन्न भइसकेको छ । कोटेश्वरमा पनि जडान सम्पन्न भइसकेपछि अबको एकहप्ताभित्र यो प्रणाली सञ्चालनमा आउने ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार अरु ठाउँमा पनि यो उपकरण जडान गर्ने तयारी छ ।

यो प्रणाली जडान गरिसकेपछि त्यस ठाउँमा गुड्ने गाडीका सबै जानकारी सबै ट्राफिक प्रहरीसँग हुन्छ । तीव्र गतिमा गाडी हुँइक्याएर दुर्घटना गरेर भाग्ने अर्थात् ‘हिट एण्ड रन’ का घटनाहरु धेरै भएका कारण त्यस्ता गाडीहरु पहिचान गर्न सकियोस् भनेर यो प्रणाली जडान गरिएको हो ।
सिंह भन्नुहुन्छ, ‘यहाँ हिट एण्ड रनका केसहरु धेरै आए । त्यसलाई न्यूनीकरण गर्नका लागि यो सिस्टम धेरै उपयोगी हुन्छ । हिट एण्ड रन गरेर कोही भाग्यो भने त्यसको नम्बर प्लेट र कुन स्पीडमा भाग्यो भन्ने पत्ता लगाउन सकिन्छ ।’
यो प्रणालीले पहिले गाडीको नम्बर पहिचान गरेर सर्भरमा पठाउँछ । सँगसँगै गाडी कुन गतिमा कुदिरहेको छ भन्ने पनि जानकारी गराउँछ । अहिले चक्रपथका तीन ठाउँमा जडान भएको प्रणालीले ५० किलोमिटर तथा त्यसभन्दा मुनिको गतिलाई सामान्य मानेको छ । त्यसभन्दा माथिको गतिमा गाडी कुदाएमा त्यसलाई तीव्र गति मानिनेछ र त्यसै अनुसार ट्राफिक प्रहरीले कारबाही गर्ने गर्छन् ।
सडक विभागले कोटेश्वरदेखि कलंकी चक्रपथ खण्ड तथा भक्तपुरको सडकमा ५० किलोमिटर प्रतिघण्टाको दुरीमा सवारी चलाउन पाइने तथा भित्री सडकको गति भने ३० किलोमिटर प्रतिघण्टा तोकेको छ ।