काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो विवादित अभिव्यक्तिलाई लिएर संसदमा दुःख मनाउ गरेका छन् । उनले प्रधानमन्त्रीका रुपमा आफूले जसरी बोल्नुपथ्र्यो त्यसरी नबोलेको स्वीकारोक्ती व्यक्त गरे ।
आफूमाथि उठेको प्रश्नबारे संसद वैठकमा बोल्दै प्रधानमन्त्री दाहालले उक्त स्वीकारोक्ती गरेका हुन् । उनले संसदलाई पूर्ण गतिका साथ अघि बढाउन प्रतिपक्ष दलहरुलाई आग्रह समेत गरे ।
दाहालले भने, ‘मेरो भाषाबाट पर्न गएको असहजताप्रति दुःख व्यक्त गर्न चाहन्छु । मेरो मनसाय कसैको अनादर वा आरोप–प्रत्यारोप गर्ने नहुँदा नहुँदै पनि यसअघिका कतिपय टिप्पणी र वक्तव्यमा देखिएका भावहरुका निम्ति पनि दुखः व्यक्त गर्न चाहन्छु । विगतका सबै टिप्पणीहरु, तीनमा प्रयोग भएको भाव र भाषाभन्दा यो नै आधिकारिक हो र यसलाई नै स्थापित गरेर लैजाने विश्वास व्यक्त गर्न चाहन्छु । मेरो भाषा प्रधानमन्त्रीका रुपमा जसरी बोल्नुपथ्र्यो त्यस्तो नभएको रियलाइज गर्दै यसप्रति ध्यानाकर्षण गराउने प्रतिपक्ष दलहरुलाई धन्यवाद दिन्छु ।’