बैतडीसहित सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्लाहरुमा आज बिहानदेखि विद्युत सेवा अवरुद्ध भएको छ। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बैतडीका प्रमुख पवन भट्टका अनुसार डोटीको रुवसकाँडामा १ सय ३२ केभि प्रशारण लाइनको तार टुटेपछि विद्युत सेवा अवरुद्ध भएको हो।
अत्तरियादेखि स्याउले सव स्टेशन जोड्ने ट्रान्समिसन लाइनको रुवसकाँडास्थित टावरको एउटा तार टुटेको हो। तार टुट्दा सुदूरपश्चिमका सात पहाडी जिल्लाको विद्युत सेवा अवरुद्ध भएको प्रमुख भट्टले बताउनुभयो। उहाँले भन्नुभयो,“ रुवसकाँडामा १ सय ३२ केभि प्रशारण लाइनको तार छुटेपछि बिहान ८ बजेदेखि विद्युत सेवा अवरुद्ध भएको हो। ट्टेको तार मर्मतका लागि अत्तरियाबाट टोली परिचालन भएको खबर आएको छ ।”
तार मर्मत गरि विद्युत सेवा सुचारु गर्न केही समय लाग्ने जनाएको छ। विद्युत सेवा अवरुद्ध हुँदा नागरिक समस्यामा परेका छन्। विद्युत सेवा बन्द हुँदा मिल सञ्चालक, कम्प्युटर पसल, इलेक्ट्रोनिक पसलहरुलाई, विद्युतबाट सञ्चालन हुने ग्रील उद्योग लगायतलाई समस्या भएको दोगडाकेदार ७ खोचलेकका दीपेन्द्र कार्कीले जानकारी दिनुभयो।