बझाङ जोड्ने जयपृथ्वी राजमार्गमा दिनहुँ पहिरो खसेर सडक अवरुद्ध हुँदा यात्रुहरुहरुलाई सास्ती हुने गरेको छ । राजमार्ग अन्र्तगत बैतडीको श्रीभावर,ज्यापु,ढोल्यामोड,मोतीनगरसहित विभिन्न ठाउँमा पहिरो खस्ने गरेको छ ।
बझाङ जिल्ला जोड्ने र बैतडीका पनि सिगास, सुर्नया गाउँपालिका र पुर्चौडी नगरपालिका जानका लागि पनि यहि राजमार्ग भएर जानुपर्दछ ।
असार १० गतेदेखि हालसम्म उक्त राजमार्ग पाँचपटक बन्द भइसकेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताउनुभयो । दिनमा सयौं गाडी आवतजावत गर्ने राजमार्ग बेलाबेलामा अवरुद्ध हुने गर्नाले समस्या हुने गरेको यात्रुहरुले बताएका छन् ।
यो राजमार्गको घुम्ती कटिङ गरेर स्तरोन्नतीको काम सञ्चालन भएकाले झनै समस्या भएको छ । घुम्ती कटिङ गरेका स्थानमा पानी परेपछि पहिरा गएका छन् । प्रहरी निरीक्षक जोशीले भन्नुभयो,“घुम्ती कटिङ र स्तरोन्नतीको भएकाले बेलाबेला राजमार्ग अवरुद्ध हुने गरेको छ, हामीले बन्द भएको जानकारी पाउनसाथ खुलाउने प्रयास गर्छौ । जेसिबी पनि राजमार्गमै तयारी अवस्थामा राखेका छौं । ”
बेलाबेलामा पहिराले राजमार्ग हुँदा सास्ती हुने गरेको सिगास गाउँपालिका ९ जालहाल्लाका लक्ष्मी चन्दले बताउनुभयो । उहाँले भन्नुभयो,“ गत वर्षहरुमा पनि वर्षातको समयमा पहिरा बेलाबेला जाने गरेको थियो, यो वर्ष घुम्ती कटिङको काम चलिरहेकोले झनै पहिरा गइरहेका छन् । ”
पहिराले घण्टौसम्म सडक अवरुद्ध हुँदा आकस्मिक रुपमा यात्रा गरिरहेका यात्रुहरुलाई बढी समस्या हुने गरेको छ । उहाँले भन्नुभयो,“ बर्षातमा सधंै पहिरो जाने गर्दा यात्रा गर्दा निकै डर लाग्ने गरेको छ । बिरामी र आकस्मिक रुपमा यात्रा गर्नेहरुलाई झनै समस्या हुन्छ ।”
लगातारको वर्षाका कारण राजमार्ग अन्र्तगत ज्यापुमा सडक माथिबाट ठूलो ढुंगा खसेपछि असार १७ गते राति बन्द भएको सडक १८ गते बिहानदेखि सुचारु भएको थियो ।
यसअघि असार १७ गते पनि सोहि राजमार्गको सुर्नगा गापा ८ ढोल्यामोड र सुर्नया गापा ६ मोतिनगरमा पहिरो खसेर अवरुद्ध भएको थियो । असार १६ गते पनि सो राजमार्ग अन्तर्गत बैतडीको सुर्नया गाउँपालिका वडा नं ८ आलुगैरामा, असार १४ गते पाटन नगरपालिका ८ ज्यापुमा असार १० गते सिगास गाउँपालिका ९ श्रीभावरमा पहिरो खस्दा यातायात सेवा पूर्ण रुपमा बन्द भएको थियो ।
वर्षाको समयमा यात्रा गर्न समेत डर लाग्ने गरेको बझाङ बित्थडचिर १ का राम बोहराले बताउनुभयो । उहाँले भन्नुभयो,“साघुँरो सडक त्यसैमा बेलाबेला पहिरो खसिरहनेले घण्टौं बीचबाटोमै बस्नुपर्छ, यात्रा गर्न निकै डर लाग्छ । ”
बेलाबेलामा खस्ने पहिरोको दीर्घकालिन समाधानका उपाय खोज्न यात्रुहरुको माग रहेको छ ।
सडक अवरुद्ध भएमा तुरुन्तै सुचारुका लागि डोजर र स्काभेटर तयारी अवस्थामा राखिएको र दीर्घकालिन समाधान घुम्ती सुधार गरि स्तरोन्नतीको काम सम्पन्न भएपछि मात्रै हुने सडक डिभिजन कार्यालय पाटनले जनाएको छ ।