काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई दिल्लीले प्रधानमन्त्री बनाएको भनेर सुनाउँदै जनतालाई प्रभाव दिन खोज्ने प्रधानमन्त्री देशले पाएको टिप्पणी गरेका छन्।
नेपाल प्राज्ञिक परिषद्ले शुक्रबार काठमाडौंमा आयोजना गरेको नेपालको भूराजनीतिक तथा सामरिक चुनौतीहरू विषयक विचार गोष्ठीमा लिङ्देनले प्रधानमन्त्री बनाउनका लागि भित्रिरूपमा हुने चलखेल सबैलाई थाहा भए पनि अहिले आफूलाई दिल्लीले प्रधानमन्त्री बनाएको भनेर सुनाएर प्रभाव दिन खोज्ने प्रधानमन्त्री देशले पाएको बताए।
छिमेकीलाई कम्फर्टेवल हुनेगरी सरकार बनाउने कामले मुलुकको भूराजनीतिक परिस्थिति पेचिलो बन्दै गएको उनको भनाइ छ। उनले देशलाई सबै हिसाबले परनिर्भर बनाउने र कसैको आड लिएर सत्तामा टिकिरहने संस्कृतिले नेपाल गम्भीर भूराजनीतिक चपेटामा परेको अनुभव गरेको जिकिर गरे। विभिन्न आवरणमा विदेशीहरूको सेवा गरेर सत्तामा जाने प्रवृति बढिरहेको र आफ्ना चाहना पूरा गर्न विदेशी शक्ति पनि मुलुकमा हाबी हुन थालेको उनले बताए।
लिङ्देनले विदेशीलाई खुसी पार्नका लागि नै अहिले सेनामाथि पनि आक्रमण सुरु भएको र सेनाको संख्या घटाउनुपर्छ भन्ने आवाज उठ्न थालेको जिकिर गरे।