काठमाडौं । नेपाली कांग्रेसमा महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गरेको कामप्रति सन्तुष्ट हुन नसकेको बताएका छन् । यद्यपि, सरकारले अघि सारेको भ्रष्टाचारको अभियानमा साथ रहेको उनको भनाइ छ ।
‘दृश्यमा खप्तड’ सार्वजनिक समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले जनतालाई सन्तुष्ट हुने काम गर्न सरकारलाई आग्रह गरे ।
उनको भनाइ जस्ताको तस्तै
अहिले प्रधानमन्त्रीको नेतृत्वमा सुशासनको लागि भ्रष्टाचारसँग जोडिएका कतिपय ठूला काण्डहरुमा एकपछि अर्को गर्दै महत्वपूर्ण निर्णयहरु हुँदै गइरहेका छन् । त्यसमा हाम्रो शत प्रतिशत समर्थन छ । यो विषय त्यहाँमात्रै नअड्कियोस् । तर, अहिले सत्तापक्षका अधिकांश सांसदहरुमा आक्रोश छ । सरकारले भ्रष्टाचारविरोधी काम गरेको कुरामा समर्थन छ ।
तर, डेलिभरको सन्दर्भमा अहिले जुन खालको अर्थतन्त्र छ । यो आर्थिक संकटको बेलामा सरकारले जसरी काम गरोस् भन्ने थियो आम नागरिकहरुको दुःखमा थोरै भए पनि ढाडस दिओस् भन्ने सन्दर्भमा भइरहेको छैन । हामी नागरिकको प्रतिनिधि भएकाले त्यो छट्पटाहट हुन्छ । त्यो आक्रोश हामीमा पनि हुन्छ ।
सरकार सञ्चालन गर्नेहरुले मैले संसदमा पनि भनेको थिएँ । तपाईंहरुले टाउको गनेर मसँग टन्न सांसदहरु छन् । कम्फर्टेबल छु भनेर गठबन्धनका ठूल्ठूला नेताहरु बालुवाटारमा बैठक बस्ने त्यो बैठकमा सब ठीक छ, सब ठीक छ भनेर बस्नुभयो भने कुनै बेला ठीकठाक नहुन पनि सक्छ । त्यो ठीकठाक हामीलाई पनि लाग्नुपर्छ । नागरिकलाई ठीकठाक लागेको बेलामा मात्रै हामीलाई ठीकठाक लाग्छ ।
तर, हामीलाई प्रतिनिधि मानिरहेका जनताले त्यो मानिरहेका छैनन् । त्यसकारण हामीलाई छट्पटाहट छ । हामी काम चाहन्छौं, त्यसतर्फ प्रधानमन्त्रीसहित सरकारमा रहेकाहरुको ध्यान जाओस् । हामी ठीक कामलाई ठीक भन्छौं । नपुगेको कुरामा हामी प्रश्न उठाउँछौं ।