लुम्बिनी प्रदेशमा बजेटको विरोध गरिरहेको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई पेलेरै जाने सरकार र सभामुखले रणनीति बनाएका छन् ।
बजेटमा एकलौटी र पूर्वाग्रह राखेको भन्दै सच्चाउने लिखित माग गर्दै आन्दोलनरत सांसदहरूको नाराबाजीकै बीच सभामुख तुलाराम घर्तीले सभा सञ्चालन गरेका हुन् । सोमबार विपक्षी सांसदहरूले नाराबाजी गरिरहे भने सभामुखले सदन चलाएर बजेटको सैद्धान्तिक छलफल सकिएको घोषणा गरे ।
सभामा सांसदहरूको नाराबाजी, अर्थमन्त्री धनबहादुर मास्कीको प्रस्ताव पेश गर्ने, सत्तापक्षका सांसदले धारणा राख्ने र त्यसैका आधारमा अर्थमन्त्रीले जवाफ दिने र सभामुखले सैद्धान्तिक छलफल सकिएको घोषणा गर्ने रोचक दृश्य सोमबारको प्रदेश सभा बैठकमा देखिएको थियो ।
प्रतिपक्षी दलले यसलाई सरकारको बलमिचाइँ भन्दै आपत्ति जनाएको छ भने सरकार पक्ष तथा सभामुखले यसको विकल्प नभएको जनाएका छन् ।
एमालेले सरकारले यसअघिका महत्त्वपूर्ण आयोजनाका बजेट र सांसदले पेश गरेका अत्यावश्यक योजना कटौती गरेको, प्रदेशमा रहेका निर्देशनालय खारेज गरेर संघीयताको खिल्ली उडाएको, मुख्यमन्त्री कार्यालयमा ३ अर्बभन्दा बढीको रकम बिनाशीर्षक राखिएको भन्दै त्यसलाई सच्चाउन माग गरिरहेको छ ।
प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले संसदीय दलका नेता लीला गिरीले सदनको सुरुमै बजेटका बारेमा धारणा राखेर बजेट पूर्वाग्रही, सतही, संघीयताको मर्म विपरीत, बेथिति निम्त्याउने र कार्यकर्ता पोस्ने खालको आएको भन्दै सच्याउनुपर्नेमा जोड दिएका थिए ।