काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राम्रो काम गरेवापत आफूलाई सरकारमा जान नदिन निरन्तर प्रयास भईरहेको टिप्पणी गरेका छन् ।
‘देश समृद्धि होस्, जनता सुःखी रहून्’ भन्ने ध्येयका साथ काम गरिरहँदा पनि केही मानिसहरु आफूलाई सरकारमा पुग्न नदिनका लागि अनेक उपायको खोजीमा लाग्ने गरेको ओलीको भनाइ छ ।
सोमबार भक्तपुरमा निर्माण गरिएको ‘छोरीको घर ज्येष्ठ नागरिक आश्रम’को उद्घाटन गर्दै उनले आफू भने कुनै प्रतिफलको आशा नगरी देश र जनताको समृद्धिको काममा लागिपर्ने बताए ।
ओलीले आफू सरकारमा नभएपनि देश र जनताका लागि केही न केही काम गरिरहेको दाबीसमेत गरे । उनले आफू सरकारमा सहभागी भएको बेला सुरु गरिएको ज्येष्ठ नागरिक भत्ता ४ हजार पुर्याउनेलगायतका थुप्रै काम आफूले गरेको तर त्यसको जस आफूलाई नै दिनुपर्छ भन्ने मान्यता नलिएको पनि पटकपटक दोहोर्याए ।
ओलीले देश र जनताको सेवा गरेवापत प्राप्त हुने सन्तुष्टि नै आफ्नो लागि सबै भन्दा ठूलो प्राप्ती हुने गरेको बताए । उनले आफूले नै सडक बालबालिकाको व्यवस्थापनको काम सुरु गरेको, दूर्गम ठाउँहरुको अन्त्य हुने गरी सडक सञ्जाल निर्माणको काम सुरु गरेको भएपनि त्यसको श्रय लिनुपर्छ भन्ने नलागेको बताए ।