काठमाडौं : ललिता निवास जग्गा हिनामिना प्रकरण छानबीन भइरहेको समयमा काठमाडौं महानगरपालिका उक्त क्षेत्रमा जाने भएको छ। काठमाडौं महानगरपालिका मेयर बालेन शाहको निर्देशनपश्चात महानगरीय प्रहरी बलको टोली आज ललिता निवासमा घेराबार गर्न जान लागेको हो।
महानगरको नगर प्रहरी बलको टोली ललिता निवासअन्तर्गतको खाली रहेको सार्वजनिक जग्गा संरक्षण गर्न घेराबार गर्नको लागि आज २:३० बजे ललिता निवास जान लागेको नगर प्रहरी बलका प्रमुख राजु पाण्डेले अन्नपूर्ण पोस्टलाई जानकारी दिए।
सीआईबीले ललिता निवास जग्गा हिनामिना काण्डमा सरकारी कर्मचारी, व्यवसायी, भू–माफियासहित ४ सय जनाविरुद्ध ठगी र किर्तेमा मुद्दा दायर गर्नुपर्ने निष्कर्ष निकालेको छ। ललिता निवासको १ सय ४३ रोपनी जग्गा हिनामिना भएको प्रहरीको निष्कर्ष छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने १ सय ३६ रोपनी जग्गा अतिक्रमण भएको दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ।
ललिता निवास जग्गा प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, सुधीरकुमार शाह, धर्मप्रसाद गौतम, कलाधर देउजा, गोापल कार्की, सुरेन्द्र कपाली र भुपेन्द्रमान श्रेष्ठ पक्राउ गरेको थियो। उनीहरुमाथि आवश्यक अनुसन्धान जारी रहेको छ।
सीआईबीले ललिता प्रकरणमा ‘ठगी तथा लिखत किर्ते’ मा अनुसन्धान थालेपछि टीकाराम घिमिरेसहित १७ जनाले आफूलाई पक्राउ नगर्न/थुनामा नराख्न अन्तरिम आदेश मागेर सर्वोच्चमा रिट दिएका थिए। सीआईबीले पक्राउ गर्ने संकेत पाएपछि उनीहरू अन्तरिम आदेशका लागि सर्वोच्च पुगेका थिए। घिमिरे मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख हुन्।
०७९ साउन १९ गते सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले घिमिरेसहित १७ जनालाई पक्राउ नगर्न/थुनामा नराख्न भन्दै अन्तरिम आदेश दिएको थियो। मुलुकी अपराध संहिता २०७४ बमोजिम हद म्याद नाघेर प्रहरीले सार्वजनिक किर्तेमा छानबिन अघि बढाएको तर्क गर्दै इजलासले अन्तरिम आदेश दिएको थियो।
Annapurn