काठमाडौं : समाजवादी मोर्चा नेपालको पहिलो बैठक आज बस्ने भएको छ। शनिबार बिहान पोखरामा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मोर्चाको बैठक बसेर कार्यक्रम तय गर्ने जानकारी दिएका हुन्।
‘हाम्रो पहलमा समाजवादी मोर्चा घोषणा गरिएको छ। आज नै बैठक बसेर त्यसका कार्यक्रम तय गर्छौँ’ उनले भने,‘समाजवादी मोर्चाले समाजवादको आधार निर्माणका लागि काम गर्नेछ। पूर्वमाओवादीहरू पनि छलफलमा छौँ। पार्टी एकताको लागि ठोस पहल अगाडि बढाउँछौँ।’
उनीहरुले तल्लो तहसम्म नै समन्वय हुने गरी संयन्त्र बनाउने तयारी गरेका छन्। नीतिगत निर्णय गर्न अध्यक्षहरूसहितको संयोजन समिति हुनेछ भने यसलाई स्थानीय तहसम्म विस्तार गर्न सकिनेछ। मोर्चाको नीतिगत निर्णय गर्न सदस्य दलहरूको अध्यक्षसहित तोकिएका प्रतिनिधिहरू रहेको एक संयोजन समिति हुने छ। उक्त समितिले आवश्यकताअनुसार उपसमितिहरू गठन गरी क्षेत्राधिकार तोक्न सक्ने छ।
समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा रहेको छ।
प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल कांग्रेस हो। यो मोर्चाका तीन घटकसँगै कांग्रेस अहिले सरकारमा छ। कांग्रेसको प्रतिनिधिसभामा ८८ सिट छ। प्रमुख प्रतिपक्ष दल एमालेको ७९ सिट छ। माओवादी केन्द्रसँग ३२, जसपासँग १२ र नेकपा एससँग १० सिट छ। यो मोर्चासँग ५४ सिट हुन्छ। यी तीनै पार्टी सत्तामा छन्। तर, विप्लवको पार्टी मात्रै सत्ता बाहिर छ।
मोर्चामा आएका चार पार्टीका फरक–फरक सिद्धान्त, विचार, दृष्टिकोण र कार्यक्रमहरू छन्। माओवादी केन्द्र, नेकपा एस र विप्लव तीन कम्युनिस्ट पार्टी हुन्। मधेस केन्द्रित जसपा पनि यो मोर्चामा छ। तर, उसले कम्युनिस्ट सिद्धान्त मान्दैन। विप्लव कम्युनिस्ट भए पनि संसदीय व्यवस्था मान्दैन। फरक विचार भएका यस्ता दल एक ठाउँमा कति टिक्न सक्छन् ? यो प्रश्न तेर्स्याउने पनि छन्।
यो मोर्चा बनाउने कसरत लामै हो। २०७७ साल फागुन २३ मा तत्कालीन नेकपा भंग भएपछि नै यो प्रयास भएको थियो। यो प्रयास नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नै गरेका थिए। मोर्चा बनेसँगै सबैभन्दा बढी फाइदा पनि दाहाल नै भएको छ। उनीसँग अब ५४ सांसदको शक्ति छ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि प्रधानमन्त्री बन्न सहजताका लागि यो मोर्चामा छन्। सिद्धान्त, विचारधारा, दृष्टिकोण फरक भए पनि साझा मुद्दामा एक हुने भएकाले मोर्चा बनाएको उनीहरूको दाबी छ।