बैतडीको पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य संयोजक राम सागर शाहकी श्रीमती श्यामा शाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रशासन कार्यालयले गत जेठ दोश्रो साता अवैध ठहर गर्दै सिल गरिएको श्यामा क्लिनिक पुनः बिना जानकारी सञ्चालन गरेको पाइएपछि उनलाई नियन्त्रणमा लिएको हो ।
अवैध रुपमा क्लिनिक सञ्चालन गरी समान्य स्वास्थ्य शिक्षा समेत हासिल नगरेकी (ननमेडिकल पर्सन) श्यामा शाहले बिरामी जाच्ने देखि औषधी बिक्रि वितरण गर्ने गरेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
शुक्रबार उनलाई नियन्त्रणमा लिएको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी योगेश खत्रीले जानकारी दिए ।
स्वास्थ्य साखा संयोजक समेत रहेका राम सागर शाहले अबैध रुपमा बिना अनुमती क्लिनिक सञ्चालन गरीरहेका छन् । अबैध रुपमा क्लिनिक सञ्चालन गरेको थाहा पाएपछि जिल्ला प्रशासन कार्यालयले बैतडीले जेठ दोश्रो साता सिल गरेको थियो । तर सिल गरिएको क्लिनिकलाई फेरी पनि स्वास्थ्य साखा प्रमुख शाहकी श्रीमती श्यामा साहले बिरामीलाई जाच्ने र औषधी दिने गरेको जस्ता काम गर्दै स्वास्थ्यमाथि गम्भिर खेलवाड गर्ने गरेको र स्वास्थ्य सेवाको नाममा नीति नियम माथी धज्जी उडाउने गरेको पाइएको हो ।
प्रशासनलाई नटेर्ने र स्वास्थ्य जस्तो सम्बेदनशील क्षेत्रमाथि गम्भिर खेलवाड गर्ने स्वास्थ्य साखा प्रमुख दम्पतीलाई हदैसम्मको कारवाही हुनुपर्ने स्थानीयहरुले माग समेत गरेका छन् ।