पौल स्टर्लिङको अर्धशतकप्रेरित आयरल्यान्डले आईसीसी विश्वकपको ग्लोबल छनोटअन्तर्गत सुपर सिक्समा अमेरिकालाई ६ विकेटले पराजित गरेको छ।
जिम्बाब्वेको हरारेस्थित तकासिङ्घा स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङ थालेको अमेरिकाले ४२.४ ओभरमा सबै विकेट गुमाएर एक सय ९६ रनको योगफल तयार गरेको थियो।
जवाफी ब्याटिङमा उत्रिएको आयरल्यान्डले ३४.२ ओभरमा चार विकेट गुमाएर लक्ष्य पूरा गर्यो। आयरल्यान्डका लागि स्टर्लिङले ४५ बलमा ५८ रनको अर्धशतकीय इनिङ खेले। यस्तै। एन्डी बाल्बिर्नीले ४५, एन्डी म्याक ब्राइनले ३५ र ह्यारी टेक्टर तथा लोर्सान टरले २५–२५ रनको योगदान गरे।
अमेरिकाका लागि नोस्थुस केन्जिगेले दुई तथा अभिषेक परादकर र निसार्ग पटेलले एक–एक विकेट लिए।
अमेरिकाका लागि साइतेजा मुकाम्मल्ला र सुशान्त मोदानीले ५५–५५ तथा उस्मान रफिकले २८ र स्टेभन टेलरले २३ रन जोडेका थिए।
आयरल्यान्डका लागि क्राग योङले तीन तथा मार्क आदेर, ब्यारी मकार्थी र एन्डी म्याकब्राइनले दुई–दुई विकेट लिए।