कोसी प्रदेशमा नेकपा (एमाले) नेतृत्वको सरकार ढलेपछि नयाँ सरकार गठनका लागि तयारी थालिएको छ।
विश्वासको मत पाउन नसकेर मुख्यमन्त्री हिक्मतकुमार कार्की पदमुक्त भएपछि नयाँ सरकार गठनको तयारी सुरु भएको हो। प्रदेशसभा सचिवालयले कार्कीले विश्वासको मत पाउन नसकेको पत्र प्रदेश प्रमुखको कार्यालयलाई पठाएपछि कोसीमा नयाँ सरकार गठनका लागि बाटो खुला भएको छ। प्रदेशसभा बैठकमा मुख्यमन्त्रीको प्रश्तावमा मत विभाजन हुँदा उनले बहुमत गुमाए। अर्थात, विश्वासको मत पाउन सकेनन्।
प्रदेशसभा सचिवालयले मुख्यमन्त्री कार्कीले प्रदेशसभाको विश्वास गुमाएको पत्र प्रदेश प्रमुखलाई पठाएको हो। मुख्यमन्त्री कार्कीले मागेको विश्वासको मतका पक्षमा ४६ मत मात्रै परेको थियो। विपक्षमा ४३ मत खस्यो। प्रदेशसभामा बहुमत पुर्याउन ४७ मत आवश्यक पर्छ।
गठबन्धनमा रहेको जसपाकी सांसद निर्मला लिम्बू शुक्रबारको बैठकमै उपस्थित भइनन्। जसपाले विश्वासको मतमा तटस्थ बस्ने निर्णय बिहीबार नै गरेको थियो। त्यहाँमाथि गठबन्धन दल कांग्रेसकी ममता तामाङ र माओवादीका नारायण बुर्जामगर विश्वासको मतका लागि मतदान प्रक्रिया सुरु हुँदै गर्दा प्रदेशसभाबाट बाहिरिएका थिए।
९३ सदस्यीय प्रदेशसभामा मतदान प्रक्रियामा ८९ जना प्रदेशसभा सदस्य मात्रै उपस्थित रहे। प्रदेशसभा सचिवालयका प्रवक्ता गौतमराज अमात्यका अनुसार मुख्यमन्त्री कार्कीले प्रदेशसभाबाट विश्वास गुमाएको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइएको जानकारी दिए। प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले पनि प्रदेशसभा सचिवालयको पत्र प्राप्त भएको पुष्टि गरे।
पत्र प्राप्त भइसकेका कारण नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख पर्शुराम खापुङले छलफल एवं परामर्श गरिरहेको जानकारी श्रेष्ठले दिए। सम्भवतः प्रदेश प्रमुख खापुङले आज साँझसम्ममा नयाँ सरकार गठनका लागि आह्वान गर्ने स्रोतको भनाइ छ।