काठमाडौँ ः कृषि,स्वास्थ्य, सडक र शिक्षालाई प्राथमिकता दिदैं बैतडीका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८०÷८१ को लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । नगरसभा तथा गाउँसभाबाट यहाँका नौ स्थानीय तहहरुको ४ अर्ब ७३ करोड एक लाख ६७ हजार १०० रुपैंया बराबरको बजेट सार्वजनिक भएको हो ।
स्थानीय सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम र बजेटमा सार्वजनिक गर्दै शिक्षा, स्वास्थ्य, कृषि, रोजगार र सडकलाई मुख्य प्राथमिकतामा राखेका छन् ।
सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ८२ करोड १७ लाख ३८ हजार बराबरको बजेट ल्याएको छ । उपप्रमुख कौशिला चन्दले शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकतामा राखेको छ भने नगरको ढल निकास र स्वच्छ, सफा नगरपालिका सामाजिक विकास, सुशासन लगायतका क्षेत्रलाई समेट्नुभएको छ ।
नगरपालिकाले पूँजीगततर्फ ११ करोड विनियोजन गरेको छ भने चालु खर्चतर्फ १३ करोड ४० लाख २८ हजार ८८९ रुपैंया बजेट विनियोजन गरेको छ । यस्तै आर्थिक विकासतर्फ ७५ लाख विनियोजन गरेको नगरपालिकाले सामाजिक विकासतर्फ ४ करोड ६० लाख , पूर्वाधार विकासतर्फ १ करोड ६६ लाख विनियोजन गरेको नगरपालिकाले वातावरण तथा विपद् व्यवस्थापनतर्फ ५० लाख विनियोजन गरेको छ ।
पुर्चौडी नगरपालिकाले ६४ करोड ५४ लाख ११ हजार बजेट ल्याएको छ । पूर्वाधार, कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट ल्याएको बताएको छ । नगर सभामा बजेट प्रस्तुत गर्दै उपप्रमुख मीना धानुकले सामाजिक विकास, पूर्वाधार, कृषि, शिक्षा स्वास्थ्यलाई र सुशासनलाई प्राथमकितामा राखेको बताउनुभयो ।
पुर्चौडीमा सामाजिक विकास तर्फ ८ करोड ५० लाख, वन बातावरण तथा विपद् व्यवस्थापन तर्फ ५० लाख, सुशासन तथा संस्थागत विकास तर्फ ९ करोड, पूर्वाधार विकासतर्फ ७ करोड र आर्थिक विकास तर्फ एक करोड विनियोजन गरिएको छ ।
पाटन नगरपालिकाले पनि सार्वजनिक गरेको ६३ करोड ५३ लाख ६२ हजार २१० रुपैँया बराबरको बजेट बजेटमा शिक्षा,स्वास्थ्य र सामाजिक विकासलाई प्राथमिकतामा राखेको नगर प्रमुख गौरिसिंह रावलले बताउनुभयो ।
दोगडाकेदार गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले प्रस्तुत गर्नुभएको ५१ करोड ४४ लाख ४० हजार ४ सयको बजेटमा स्वास्थ्य, कृषि र सुशासनलाई प्राथमिकतामा राखेको छ । उहाँले भन्नुभयो,“ कृषि क्षेत्रलाई उत्पादनको प्रमुख क्षेत्रको रुपमा विकास गर्दै ‘अध्यक्ष नमुना कृषि गाउँ’ कार्यक्रम, ‘एक टोल एक उत्पादन’मा जोड दिदै उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन गरिने र उत्कृष्ट कृषकलाई पुरुस्कार दिने, शीतभण्डार निर्माण, कृषि बिउबिजन तथा मल केन्द्र स्थापना गरिनेछ । ”
मेलौली नगरपालिकाले नगरपालिकाले ४९ करोड ९३ लाख ९७ हजार ५ सय बराबरको बजेट सार्वजनिक गरेको छ । सुर्नया गाउँपालिकाले ४२ करोड ८ लाख ४२ हजार बराबरको बजेट ल्याएको छ ।
सिगास गाउँपालिकाले केही नयाँ कार्यक्रमसहित पुराना कार्यक्रमलाई निरन्तरता दिएर ४३ करोड ८२ लाख ३१ हजार ८ सय बराबरको बजेट सार्वजनिक गरेको छ । जसमा चालुतर्फ ३३ करोड ८९ लाख २४ हजार ८ सय र पूँजीगततर्फ तर्फ ९ करोड ९३ लाख ७ हजार बराबरको बजेट विनियोजन गरिएको अध्यक्ष हरिसिंह धामीले बताउनुभयो । उहाँले भन्नुभयो,“ हाम्रो पालिका भनेको जिल्लाकै दुर्गम हो ,हामीले कृषि र सडकलाई मुख्य प्राथमिकता दिएर बजेट लिएका छौं ।”
जिल्लाको पञ्चेश्वर गाउँपालिकाले ३८ करोड ७३ लाख ७२ हजार २ सय बराबरको बजेट ल्याएको छ । कृषि,स्वास्थ्य र विद्युतीकरणलाई प्राथमिकतामा राख्दै बजेट गाउँसभामा पेश गरेको गाउँपालिका उपाध्यक्ष बीना भट्टले जानकारी दिनुभयो ।
शिवनाथ गाउँपालिकाले पनि ३६ करोड ३४ लाख ६७ हजार ९ सयको रुपैँयाको बजेट ल्याएको छ । बजेटमा शिक्षा,स्वास्थ्य,कृषिलाई प्राथमिकतामा राखिएको गाउँपालिका अध्यक्ष कर्णसिँह साउँदले बताउनुभयो ।
बैतडीमा चार नगरपालिका र छ गाउँपालिका गरेर १० स्थानीय तहहरु रहेका छन् । जसमध्ये डिलाशैनी गाउँपालिकाले नीति तथा कार्यक्रम सभामा पेश गरेको छ भने बजेट ल्याउन बाँकी छ ।
गाउँपालिकाले नीति तथा कार्यक्रम सभामा पेश गरेको र असार १५ गते बजेट ल्याउने तयारी गरेको गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिनुभयो ।