लुम्बिनी प्रदेश सभामा एक घण्टासम्म कुर्दा पनि सदन सुरु नभएपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरु सदनबाट बाहिरिएका छन् ।
बजेटमा असहमति राख्दै आएका प्रमुख प्रतिपक्ष दल एमाले र राप्रपाले विरोध गर्ने संकेत पाएपछि मुख्यमन्त्री डिललीबहादुर चौधरी र सभामुख तुलाराम घर्ती बैठक बसिरहेका छन् ।
एमाले सांसदहरुले आफूहरुलाई कुनै जानकारी नदिई एक घन्टा कुराएको भन्दै बाहिरिएको एमाले प्रमुख सचेतक तुलसी चौधरीले बताए ।
‘सत्तापक्षका सांसदहरु कोही हुनुहुन्न, हामीलाई ३ बजे बोलाएर कुराइयो, भित्र रहेका मन्त्रीहरु पनि निस्केर जानुभयो, अब हामीले कति समय कुर्ने भनेर बाहिरिएका हौं’, चौधरीले भने ।
उता सत्तारुढ दलले बजेटका विषयमा कसरी जाने भनेर छलफल भइरहेकाले ढिलाई भएको दाबी गरेको छ । सत्तापक्षको अलमल र गन्तव्यबिहीन अवस्थाका कारण लुम्बिनी प्रदेश सभाको आजको बैठक अनिश्चित भएको हो ।
सदनको बैठक बस्नुअघि मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रमुख प्रतिपक्षी दलका नेता लिला गिरी र उपनेता चेतनारायण आचार्यसंग छलफल गरेका थिए ।
उक्त छलफलमा आर्थिक मामिला मन्त्री धनबहादुर मास्की पनि सहभागी थिए । १ असारमा बजेट ल्याएको सरकारले सत्तारुढ दलकै सांसदहरुबाट विरोधको सामना गर्नुपर्ने भएकाले कसरी जाने भन्ने रणनीति बनाइरहेको छ ।
nepalpress