एसीसी १६ वर्षमुनिको इस्टर्न जोन कपमा नेपालले थाईल्यान्डलाई २ सय ७० रनको लक्ष्य दिएको छ। मलेसियाको बांगीमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाउँदै २ सय ६९ रन बनायो।
नेपालका निरजकुमार यादवले ४३ बलमा ७४ रन बनाए। उनले २१ बलमै अर्धशतक बनाए। सुर्यांशु कोइराला ४० रनमा आउट भए। यसैगरि बैतडीको मेलौली घर भएका नरेन भट्ट ५५ रनमा अविजित रहे भने सन्तोष यादव ४२ रनमा आउट भए। विशाल लक्ष्य पछ्याएको थाईल्यान्डले भर्खरै ब्याटिङ थालेको छ।
समूह ‘ए’ मा नेपाल, थाईल्यान्ड र मलेसिया छन्। समूह ‘बी’ मा सिंगापुर, हङकङ, माल्दिभ्स र इन्डोनेएसिया छन्। समूह ‘ए’ को खेलमा मलेसियाले थाईल्यान्डलाई १ सय १८ रनले पराजित गरेको थियो। थाईल्यान्ड पहिलो खेलमै पराजित भएको हुँदा नेपालले आज जितेमा सेमिफाइनलमा पुग्नेछ।
नेपालले आफ्नो समूह चरणको अन्तिम खेलमा पर्सि शुक्रवार मलेसियासँग खेल्नेछ। सेमिफाइनल जुलाइ ३ तारिख र फाइनल ४ तारिखमा हुनेछ।