बैतडी नरेश नायक–चट्याङले बैतडीमा एक घरमा क्षति पुर्याएको छ । जिल्लाको पुर्चौंडी नगरपालिका वडा नं ३ बोहरीगाउँस्थित कालुसिंह बोहराको नयाँ निर्माण गरिएको घरमा गएराति ११ बजेतिर चट्याङ परेको हो ।
चट्याङले नयाँ घरको छतमा चीरा परेको छ भने कोठाहरुमा पनि चीरा परेको बोहराका छोरा चन्द्र बोहराले बताए । भर्खरै नयाँ निर्माण भएको घरमा कोही नबस्ने भएकाले मानवीय क्षति भने नभएको उनले बताए ।
यसअघि बुधबार राति पुर्चौंडी नगरपालिका १ कनेडापानीका प्रेमसिंह भण्डारीको घर नजिकै रहेको विद्युतको तारमा चट्याङ पर्दा उनको गोठमा बाँधेका दुई भैंसी र एक बाख्राको मृत्यु भएको थियो ।
यस्तै चट्याङले भण्डारीको घरमा गरिएको विद्युत वाइरिङ नष्ट हुनुका साथै मिटर बक्स र दुईओटा मोबाइल जलेर नष्ट भएका थिए ।
मनसुन सक्रिय भएर बर्षासंगै पर्ने चट्याङले क्षति गर्दै आएको छ ।