काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले एमालेले चाहेमा एक हप्ताभित्रमा सरकार ढाल्न सक्ने बताएका छन् ।
बुधबार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचेतक बर्तौलाले एमालेले चाहेमा एक हप्ता भित्रमा सरकार ढाल्ने दाबी गरेका हुन् ।
उनले यो सरकारको आयु प्रत्येक एक दिनका लागि भएको बताए । यद्यपी सरकार एमालेको प्रयत्नले ढल्ने नभइ गठबन्धनभित्रकै अन्तरविरोध, असमझदारी र अविश्वासले ढल्ने बताए ।
उनले एमालेले प्रतिपक्ष दलहरुको मोर्चा नबनाउने पनि स्पष्ट पारे । बर्तौलाले एमालेले आफ्नै सामथ्र्य र जनताको आदेशका आधारमा संसदमा भुमिका निर्वाह गर्ने बताए ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ताबाट हट्नुपर्ने हो कि भन्ने त्रासका कारण समाजवादी मोर्चा बनाएको बताए । समाजवादी मोर्चा बनाउनुले देशलाई अन्यौलता र अस्थिरतातर्फ लान मद्दत पुर्याउने बताए ।
‘नेकपा(एमाले)ले यस प्रकारको मोर्चा बनाएर हिँड्नुपर्ने जरुरी छैन । एमाले आफ्नो सामथ्र्यका साथ, जनताले दिएको म्याण्डेटको बलमा संसदमा आफ्नो भूमिका निर्वाह गरिरहेको छ’, उनले भने, ‘नागरिकहरुको मुद्दालाई केन्द्रमा राखेर, राष्ट्र हीतको विषयलाई केन्द्रमा राखेर हाम्रो उपस्थिति देखाइरहेका छौँ । यो सरकारलाई हामीले कुनै मेहनत गर्नुपर्दैन । यदी नेकपा(एमाले)ले चाहेर यसलाई ढाल्नका लागि प्रयत्न गर्ने हो भने हामी एक हप्ता भित्रमा यो सरकारलाई ढाल्न सक्छौँ ।’
उनले यो सरकारको आयु प्रत्येक दिन एक दिनका लागि भएको भन्दै भोलिपल्ट, अर्को एक दिनको लागि भएको टिप्पणी गरे ।
‘कतिखेर यो सरकार ढल्ने, एमालेको कारणले, एमालेको प्रयत्नले होइन । उहाँहरुबीचको अन्तरबिरोध, असमझदारी छ, जुनखालको अविश्वास छ, त्यसको कारणले गर्दापनि यो सरकार लामो समय टिक्दैन भन्ने तथ्यले प्रमाणित गरिसकेको छ’, उनले भने, ‘यदि यसो हुँदैन थियो भने स्वयं यो सरकारको प्रधानमन्त्रीले सरकारभित्र बसेर अर्को मोर्चाबन्दी र अर्को गुट निर्माण गर्नुपर्ने कुनै जरुरी थियो ? किन गर्नुभयो भन्दा उहाँहरुको आयु, उहाँहरुको पद जतिखेर पनि धरापमा छ । त्रासमा हुनुहुन्छ । त्रासका कारणले अनेकौँ खालका गुट निर्माण गरेर हिँडिरहनुभएको छ । यसले देशलाई अन्योलतातर्फ, अस्थिरतातर्फ लानलाई मद्दत पुर्याउँछ । राजनीतिक असमझदारी, राजनीतिक अन्यौलता सिर्जना गर्न यसले भुमिका निर्वाह गरेको छ ।’
उनले समाजवादी मोर्चा गठबन्धनभित्रको एउटा गुट भएको बताए । यसले देश र जनताको हीतमा काम नगर्ने टिप्पणी गरे । उनले मोर्चामा आवद्ध दलहरु बीचको प्रेम ‘गैँडाको प्रेम चटाइ’ भएको टिप्पणी गरे ।