आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज मंगलबार अमेरिकासँग खेल्दैछ। अमेरिका र नेपालबीचको खेल जिम्बावेको राजधानी हरारेमा रहेको टागासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार मध्यान्ह पौने १ मा सुरु हुनेछ।
दोस्रो खेल खेल्दै गरेको नेपाल अमेरिकालाई हराएर प्रतियोगितामा पहिलो जित हात पार्न चाहन्छ। उता, अमेरिका पनि सोहि सोचका साथ मैदान उत्रने छ। पहिलो खेलमा नेपाल घरेलु टोली जिम्बावेसँग पराजित भएको थियो। नेपाल जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो। उता, अमेरिका भने वेस्ट इन्डिजसँग ३९ रनले पराजित भएको थियो।
दुवै टोली पहिलो जितको खोजीमा रहने हुँदा खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा राखिएको छ। नेपालको तेस्रो खेल वेस्ट इन्डिजसँग २२ जुन अर्थात असार ७ मा रहेको छ। नेपालले समूह चरणको अन्तिम खेलमा नेदरल्यान्डसँग २४ जुन अर्थात असार ९ मा खेल्नेछ। प्रतियोगितामा सहभागी १० टोलीमा दुई टोलीले भारतमा हुने विश्वकप खेल्न पाउनेछन्।
प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा बिभाजन गरिएको छ। समूह ए मा नेपाल, नेदरल्यान्ड्स, अमेरिका, जिम्बावे र वेस्टइन्डिज छन्। समूह बी मा श्रीलंका, आयरल्यान्ड, ओमान, युएई र स्कटल्यान्ड छन्। हरेक समूहबाट शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउने छन्।