बैतडी नरेश नायक –बैतडीमा डढेलोले तीन सय हेक्टर वन क्षेत्र सखाप डढेलोका कारण यो वर्ष बैतडीको तीन सय हेक्टर वन क्षेत्र सखाप भएको छ । यहाँका २० भन्दा बढी सामुदायिक वनमा लागेको डढेलोका कारण तीन सय हेक्टर वन क्षेत्र सखाप भएको हो । सामुदायिक वनहरुमा डढेलो लागेका कारण लाखौंका वन सम्पदाहरु जलेर नष्ट हुनुका साथै वन्यजन्तुहरु समेत प्रभावित भएका डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीमप्रसाद कँडेलले बताउनुभयो । मानवबस्ती आसपासका सल्लेरी वन क्षेत्रमा डढेलो बढी लाग्ने गरेको छ । स्थानीय उपभोक्ताहरुको लापरवाहीकै कारण बढी जसो आगलागीका घटनाहरु हुने गरेका छन् । उहाँले भन्नुभयो,“ वनमा घाँस पलाउँछ भन्ने गलत मानसिकताका कारण पनि वनमा डढेलो लगाउने गरेका छन्, यसले लाखौंका वन सम्पदाहरु जलेर नष्ट हुनुका साथै वन्यजन्तुहरु प्रभावितका साथै मर्ने समेत गरेका छन् ।” जिल्लाको सिगास गाउँपालिका क्षेत्रका सामुदायिक वनहरुमा बढी डढेलो लागेको छ । सिगासका ८ ओटा सामुदायिक वनको २९६ हेक्टर क्षेत्रमा डढेलो लागेको डिभिजन वन कार्यालयले जनाएको छ । सिगासको घट्टे सामुदायिक वन, सिगास भुमिराज सामुदायिक वन, सिगास बोटविरुवा सामुदायिक वन, धुरा सामुदायिक, उदयदेव सामुदायिक वन, महादेव सामुदायिक वन, सिगास सांगडा सामुदायिक वन र खेती सामुदायिक वनमा डढेलो लागेको हो । यस्तै पाटन नगरपालिका अन्तर्गतका उदयदेव, दहवयाला, ठुलीखाली र महारुद्र सामुदायिक वनमा गरी २२ हेक्टर , मेलौलीको गोपेश्वर दन्नी, अमरगढी र महादेव सामुदायिक वन गरी १६ हेक्टर, दशरथचन्द नगरपालिकाको रामपातल र श्री केदार सामुदायिक वन गरी २ दशमलव ५,पुर्चौडी नगरपालिका र दोगडाकेदार गाउँपालिकामा तीन÷तीन हेक्टर वन क्षेत्रमा डडेलो लागेको छ । डढेलो नियन्त्रणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेका भएपनि सामुदायिक वनमा आगलागीका घटनाहरूमा कमी आउन नसकेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीमप्रसाद कँडेलले बताउनुभयो । डिभिजन वन कार्यालयमार्फत डढेलो नियन्त्रणसम्बन्धी विद्यालय शिक्षासँगै स्थानीय तहका प्रतिनिधिहरूसंग बेलाबेला छलफल र अन्र्तक्रिया कार्यक्रम सञ्चालन गर्ने गरेको छ । उहाँले भन्नुभयो,“ वन डढेलो नियन्त्रणका लागि वन कार्यालय जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ । यसमा स्थानीय सरकारको पनि ध्यान जान सकेका छैन् ।” लामो समय सम्म पानी नपर्दा सुख्खापन बढेका कारण यो बर्ष अन्य वर्षको तुलनामा डढेलोको जोखिम बढी भएको हो । सामुदायिक वनहरुको कार्ययोजनामा वन डढेलो कसरी नियन्त्रण गर्ने भन्ने कुरा उल्लेख भएपनि त्यसको कार्यान्वयन भने हुन नसकेको कँडेलको भनाई छ । सामुदायिक वनहरुले आफ्नो कार्ययोजना अनुसार काम नगर्ने र उपभोक्ताले पनि क्षणिक फाईदाकालागी वनमा आगो लगाउने गरेकोले वन डढेलोको जोखिम बढिहुने गरेको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ । डढेलोका कारण लाखौंका वनसम्पदा, वन्यजन्तु नष्ट हुने,मानविय क्षति सगैँ बाताबरणमा प्रभाव पर्ने भएपनि डढेलो नियन्त्रणका बिषयमा समुदायस्तरमा चेतनाको कमी रहेको कँडेलले बताउनुभयो ।