बैतडी नरेश नायक –जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा समस्या भएको छ। कूल २५ जनाको क्षमता रहेको कारागारमा हाल ७३ जना कैदीबन्दी रहेका जेलर धारा भण्डारी जानकारी दिनुभयो।
क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा चुनौती थपिएको छ। उहाँले भन्नुभयो,“ व्यवस्थापनमा चुनौती छ,ठाउँ अभावमा एउटै बेडमा दुई,तीन जना कैदीबन्दी सुत्ने गरेका छन्, बेड माथि बेड जोडेर बसेका छन्। कारागारभित्र ठाउँ नभएर टेन्ट लगाएर राखेका छौं,पानी पर्दा समस्या हुने गरेको छ। तेब्बर कैदीबन्दी हुँदा सरुवा रोगको जोखिम पनि बढेको छ। ”
एकातिर भवनमा कोठाको अभाव छ भने अर्कोतिर कैदीबन्दी बढ्दै जाँदा बसोबासको व्यवस्था मिलाउन गाह्रो भइरहेको जनाइएको छ।कैदीबन्दीलाई शौचालय प्रयोग, सरसफाईको लागि समेत समस्या हुने गरेको छ। दशकौं पुरानो जीर्ण कारागार भवन पुर्ननिर्माण नहुँदा यहाँ सुरक्षा चुनौती पनि थपिएको छ। वि स २०४० सालमा निर्माण गरिएको कारागार भवन पुनःनिर्माण नहुँदा जीर्ण बनेको हो।
जीर्ण भवन रहेको र कोठा पनि कम रहेकाले निकै समस्या झेल्नुपरेको छ। जेलर आवास गृह, सुरक्षा व्यारेक पनि नभएको भण्डारीले बताउनुभयो। उहाँले भन्नुभयो, “जेलरले २४ सैं घण्टा बस्नुपर्ने भएपनि आवास गृह छैन्,सुरक्षा व्यारेक बनेको छैन्। दिउँसो स्वास्थ्यकर्मी र राति सुरक्षाकर्मी बस्ने गरेका छन्।
कुनै कैदीबन्दीका आमाबुवा बितेर किरिया गर्नुपरे पनि छुट्टै व्यवस्था समेत नभएको बताइएको छ। बिजुली र सिसिटिभी बेलाबेला बिग्रिरहने र त्यसको मर्मतका लागि बजेट नहुँदा समस्या हुने गरेको भण्डारीले बताउनुभयो। अनुगमन तथा निरीक्षणका लागि सरोकारवाला निकाय आउने र हेरेर जाने भएपनि समस्या भने जस्ताको त्यस्तै रहेको छ। नयाँ भवन निर्माणका लागि कारागार व्यवस्थापन विभागलाई इस्टमेटसहित पठाएको भएपनि कहिले बन्ने भन्ने टुंगो छैन।