हरिश भट्ट काठमाडौँ ः बैतडी जिल्लालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाको तयारी भएको छ। यहाँका १० वटै स्थानीय तह पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भइसकेकाले जिल्लालाई नै घोषणा गर्ने तयारी भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी बिपीन लेखकले जानकारी दिनुभयो।
पुर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा लागि १६ महिना देखि ५९ महिना सम्मका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप पाएको हुनुपर्दछ। यहाँका उक्त उमेर समूहका १५ हजार २१ बालबालिकाले खोप तालिकाअनुसार खोप पाएका हुन्। “स्थानीय स्रोतको उपयोग , स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता” भन्ने नाराका साथ यहाँका सबै पालिकाहरुलाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएका हुन्।
स्वास्थ्य चौकीहरुबाट खोप लगाएको प्रमाणीकरण वडास्तरीय खोप समन्वय समितिले प्रमाणीकरणसहित पालिकालाई सिफारीस गर्ने गर्दछ। नगर प्रमुख तथा गाउँपालिका अध्यक्षको नेत्तृत्वमा रहेको पालिकास्तरीय खोप समन्वय समितिले पनि प्रमाणिकरण गरेपछि पुर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिने प्रावधान रहेको छ।
पालिकाले जिल्ला खोप समन्वय समितिलाई प्रमाणिकरणसहितको सिफारिस गर्दछ। त्यसपछि पालिकाले गरेको पूर्ण खोप सुनिश्चिततालाई प्रमाणिकरण गर्न स्वास्थ्य कार्यालयले घरधुरी सर्वेक्षण गर्दछ। त्यसपछि मात्रै जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता घोषणा गरिन्छ। घरधुरी सर्वेक्षण गर्दा जिल्लाभरी २०० बालबालिका खोप लगाउन छुटेका पाइएको र त्यसपछि उनीहरुलाई पनि खोप तालिकाअनुसार खोप दिइएपछि घोषणा सबै पालिकालाई नै पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएका हुन्।
पूर्ण खोप सुनिश्चितता प्रमाणीकरण प्रतिवेदन सबै पालिकाहरुले जिल्ला खोप समन्वय समितिलाई पठाइसकेको र जिल्लाले प्रदेशलाई पठाइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ। सबै बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप पाएको प्रमाणीकरण भइसककेपछि यहि असार ५ गते जिल्लालाई नै पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो।
वि स २०७२ साल असार ६ गते बैतडी पूर्ण खोपयुक्त जिल्ला घोषणा भएको र त्यसको निरन्तरताका लागि हरेक वर्ष पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने गरिएको छ।