बैतडी नरेश नायक–बैतडीका विभिन्न विद्यालयहरुमा योग शिविर सञ्चालन गरिएका छन् । योग ध्यानमार्फत बालबालिकाहरुलाई स्वस्थ राख्नका लागि शिविर सञ्चालन भइरहेका आयोजकले जनाएका छन् । जिल्लाको दशरथचन्द नगरपालिकाभित्रका विभिन्न स्थानमा रहेका सामुदायिक विद्यालयहरुमा योग शिविर सञ्चालनमा रहेका बताइएको छ ।
दशरथचन्द नगरपालिका अन्तर्गतको आयुर्वेद शाखाको कार्यक्रम अनुसार विद्यालयहरुमा योग शिविर सञ्चालन भइरहेको आयुर्वेद औषधालय शाहीलेकका प्रमुख नरेन्द्र कलौनीले जानकारी दिए । शिविरमा योग ध्यानका साथै आयुर्वेदिक जडिबुटीका बिषयमा जानकारी दिने गरिएको छ । शिविरमा विभिन्न किसिमका योगाभ्यासहरु सिकाउने गरिएको कलौनीले बताए ।
जिल्लाको विरेन्द्र मावि शाहीलेक र मणिलेक मावि गुरुखोलामा विद्यार्थीहरुलाई लक्षित गरेर शिविर सञ्चालन भइरहेका छन् । शिविरमा विद्यार्थीहरुलाई योगको महत्व, योगाभ्यास लगायतका क्रियाकलापहरु गर्ने गरिएको आयुर्वेद औषधालय मुस्याचोरका प्रमुख पवन सिग्देलले बताए । बालबालिकाहरुलाई योगबाट स्वस्थ रहने बानीको विकासका लागि शिविरमा सिकाउने गरिएको उनले बताए ।
योगाभ्यासले मानिसलाई शारीरिक र मानसिक हिसाबले स्वस्थ राख्ने भएकाले विद्यालय लक्षित योग शिविर सञ्चालनमा जोड दिइएको कलौनीले बताए । नगरपालिकाभित्रका विभिन्न विद्यालयहरुमा योग शिविर सञ्चालन गरिसकिएको उनले बताए । उनले भने ‘योगले मानिसलाई फाइदा पुर्याउने र विभिन्न रोगबाट बचाउने भएकाले हामीले विद्यालय केन्द्रित योग शिविर सञ्चालन गरेका हौं ।’
शिविरमा प्राणायाम, सूर्य नमस्कार लगायतका योगाभ्यास गर्ने गरिएको सुवेदीले बताए । बालबालिकाहरुलाई तन्दुरुस्त राख्न योगले महत्वपूर्ण भूमिका खेल्ने भएकोले योग शिविर सञ्चालन गरिएको उनले बताए ।
जिल्लाको दशरथचन्द नगरपालिका अन्तर्गत निङ्गलाशैनी मावि देहीमाण्डौं, दशरथचन्द मावि सुन्दरखाली, शिवस्थली मावि जर्ग लगायतका ठाउँमा योग शिविर सञ्चालन गरिसकिएको छ । यस्तै मणिलेक मावि गुरुखोला र विरेन्द्र मावि शाहीलेकमा शिविर सञ्चालनमा रहेका सुवेदीले बताए ।
यस्तै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौलीमार्फत पनि विभिन्न ठाउँमा योग शिविर सञ्चालनमा रहेका छन् । पछिल्लो समयमा योग र आयुर्वेदिक औषधिमा मानिसहरुको आकर्षण बढेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौलीले जनाएको छ ।