बैतडी नरेश नाय -पञ्चेश्वर स्वास्थ्यचौकीमा ट्यांकरबाट पानी ढुवानी गरेर अवरुद्ध भएको प्रसूती सेवा सुचारु गरिएको छ। मेलौली नगरपालिका अन्तर्गत पर्ने स्याडी खोलाबाट ट्यांकरमा पानी लगेर शनिबार साँझदेखि प्रसूती सेवा सुचारु गरिएको पञ्चेश्वर स्वास्थ्यचौकीका इन्चार्ज सुरेश सार्कीले बताए। प्रसूती सेवा सुचारु भएकै दिन स्वास्थ्यचौकीमा एकजना गर्भवतीले शिशु जन्माएको स्वास्थ्यचौकी इञ्चार्ज सार्कीले बताए।
स्वास्थ्य चौकी छेउबाट बस्ती र मन्दिरका लागि खानेपानीको पाइप गए पनि स्वास्थ्य चौकीले अझै पानी भर्न पाएको छैन। स्वासथ्यचौकीलाई पानी नदिएपछि जेठ २८ गतेदेखि प्रसूती सेवा बन्द गरिएको थियो। स्वास्थ्यचौकीका लागि भरेर राखेको पानी सकिएपछि प्रसूती सेवा बन्द हुन पुगेको थियो।
पानीको अभावमा प्रसुती सेवा बन्द भएपछि झण्डै ४६ किलोमिटर टाढाबाट २५ हजार बढी रुपैंया तिरेर पानी ढुवानी गरी प्रसूती सेवा सञ्चालनमा ल्याइएको छ। स्वास्थ्यचौकीको आँगनबाटै बस्ती र मन्दिरका लागि पानी गएको भएपनि स्वास्थ्यचौकीमा पानी दिन स्थानीयहरुले आनाकानी गरेका छन्। प्रसूती भएका महिलाले स्वास्थ्यचौकी छोएमा पानी सुक्छ भन्ने अन्धविश्वासका कारण स्वासथ्यचौकीले पानी पाउन नसकेको हो।