हरिश भट्ट काठमाडौँ ः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले किसानलाई उत्पादनको उचित मूल्य नदिएसम्म अर्थतन्त्रलाई बलियो बनाउन नसक्ने बताएका छन्। उनले किसानलाई उनीहरूको उत्पादनको उचित मूल्य र आम्दानी ग्यारेन्टी नभएसम्म कृषिलाई अर्थतन्त्र र रोजगारीको बलियो खम्बा बनाउन नसक्ने बताएका हुन्।
ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जबसम्म हामी किसानलाई उनीहरूका उत्पादनको उचित मूल्य र आम्दानीको ग्यारेन्टी गर्न सक्दैनौं, तबसम्म हामी कृषिलाई अर्थतन्त्र र रोजगारीको बलियो खम्बा बनाउन सक्दैनौं ।’
अध्यक्ष ओलीले उत्पादनको मूल्य नपाएर सडकमै फ्याक्नु पर्ने अवस्था आउनु दु:खद भएको बताएका छन्।
आइतबार उचित भाउ नपाएको भन्दै कालीमाटीमा किसानले गोलभेडा फ्याँकेका थिए। कालीमाटी तरकारी बजारमा ५ हजार क्रेट अर्थात् १२ हजार ५ सय किलो गोलभेंडा सडकमा फ्याँकिएको थियो। गत साता काभ्रे पाँचखालका किसानले पनि यसैगरी झिकु खोलामा गोलभेंडा फालेका थिए।
ओलीले किसानले मेहनतपूर्वक पसिना बगाएर गरेको उत्पादन सडकमा फालेको दृष्यले मन थाम्न मुस्किल भएको बताएका छन्।
‘हामी एकातिर करिब ४०० अर्बको कृषिजन्य बस्तु आयत गरिरहेका छौं, अर्कोतिर हाम्रा कृषि उत्पादनले मूल्य नपाएर सडकमा फालिएको छ । किसानले मेहनतपूर्वक पसिना बगाएर गरेको उत्पादन सडकमा फालेको यस्तो दृश्य देख्दा मन थाम्न मुश्किल हुन्छ। Agriculture Products Purchase Agreement ( APPA) कृषिवस्तु खरिद सम्झौता हुनु पर्छ भनेर हामीले घोषणा पत्रको २० ग्यारेन्टीमा भनेका थियौं पनि ।जबसम्म हामी किसानलाई उनीहरूका उत्पादनको उचित मूल्य र आम्दानीको ग्यारेन्टी गर्न सक्दैनौं,तबसम्म हामी कृषिलाई अर्थतन्त्र र रोजगारीको बलियो खम्बा बनाउन सक्दैनौं,’ओलीले लेखेका छन्।’