माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सोमबार समाजवादी मोर्चा घोषणा गर्दैछन्।
संविधानको रक्षा, कार्यान्वयन, समयसापेक्ष संशोधन, परिमार्जन र विकासका साथै शान्ति प्रक्रियाका थाति रहेको काम पूरा गर्न भन्दै चार राजनीतिक दलले समाजवादी मोर्चा गठन गर्न लागेका हुन्।
मोर्चाको घोषणा सोमबार दिउँसो ३ बजे राष्ट्रिय सभा गृहमा हुँदैछ।
प्रधानमन्त्री पुष्पकमल दाहाल, जसपा अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले र विप्लवले संयुक्तरूपमा घोषणा गर्न लागेको समाजवादी मोर्चामा नेपाल समाजवादी पार्टी जाने, नजाने यकिन भइसकेको छैन।
नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईको सचिवालयले आइतबार फेसकबुक स्ट्याटसमार्फत् सरकार ढाल्ने र बनाउने खेलमा लाग्न मोर्चा आवश्यक नरहेको बताएको थियो।
तर पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठले जाने, नजाने निश्चित नभइसकेको बताए।
‘अहिले हाम्रो पार्टीका अध्यक्ष महिन्द्रराय यादवले प्रधानमन्त्रीलाई भेट्दै हुनुहुन्छ,’ त्यसपछि मात्रै यकिन हुन्छ,’ उनले सेतोपाटीसँग भने।
यता नेकपा एकता राष्ट्रिय अभियानमा पनि मोर्चामा आबद्ध नहुने भएको छ। अभियानका संयोजक वामदेव गौतमले नेकपा (एमाले)सँग संवाद अगाडि बढाएका छन्। आइतबार मात्रै एमाले अध्यक्ष ओली र संयोजक गौतमबीच भेटवार्ता भएको थियो।
छलफलपछि गौतम एमाले फर्कन उत्साहित देखिएका छन्। यद्यपि, उनले एमाले फर्किएपछि के पाउने भन्नेचाहिँ टुंगो लागिसकेको छैन।
५४ सिटको नेतृत्व गर्दै मोर्चा
प्रतिनिधि सभामा माओवादी केन्द्रका ३२, जनता समाजवादी पार्टीका १२ र एकीकृत समाजवादीका १० सांसद छन्।
२७५ सदस्यीय प्रतिनिधि सभामा मोर्चाको ५४ सिटसहित निर्णायक हिस्सा देखिएको छ।
मोर्चाको नीतिगत निर्णय गर्न चार सदस्यीय सचिवालय रहने बताइएको छ। त्यसको नेतृत्व आलोपालो गर्ने समझदारी भएको छ।
त्यस समितिले आवश्यकताअनुसार उपसमितिहरू गठन गरी क्षेत्राधिकार तोक्न सक्ने संरचना तय गरिएको छ। समितिले समान उद्देश्य, नीति, कार्यक्रम बोकेका र मोर्चाका अवधारणा समर्थन गर्ने राजनीतिक दलहरूसँग वार्ता गरी यस मोर्चामा सामेल गर्न सक्ने अधिकार दिइएको छ।
मोर्चालाई आवश्यकताअनुसार प्रदेश र स्थानीय तहसम्म विस्तार गरिने पनि बताइएको छ।
मोर्चाले तय गरेको नीति, योजना र कार्यक्रमहरूको कार्यान्वयन र अनुगमनका साथै दैनिक कार्य सञ्चालन गर्न सचिवालय बनाइने नेताहरूले बताए।
जसमा घटक दलहरूबाट तोकिएका प्रतिनिधि रहनेछन्।
मोर्चा निर्माण भइसकेपछिको अवस्थामा समितिले निर्णय गरी अन्य समाजवादी तथा प्रगतिशील दलहरूलाई पनि यसमा समावेश गर्न सकिने ठाउँ खुला राखिएको छ।
मोर्चाले अघि सारेको दस्तावेजमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपाका महासचिव विप्लवले आज हस्ताक्षर गर्नेछन्।