काठमाडौं । आइतबार बिहान ७ बजेतिर व्यापारीहरूले कालीमाटी बजार प्रवेशको गेट, भित्री सडक र अक्सन यार्डमा गोलभेंडा फ्याँके । बिहान ३ बजे खुलेको बजारमा होलसेलमा बिक्री हुने गोलभेंडा बेचिसकेपछि बाँकी रहेको गोलभेंडा व्यापारीहरूले सडकमा मिल्काएका हुन् ।
कालीमाटी बजार विकास समितिका अनुसार आइतबार कालीमाटीमा फ्याँकिएका गोलभेंडा काठमाडौंकै वरपरको काँठ क्षेत्रमा उत्पादन भएका थिए । अरू बेला यहाँ कम मूल्य पाएको खण्डमा गोलभेंडा पोखरा लगायतका बजार लगिन्थ्यो ।
बजार विकास समितिको तथ्याङ्क अनुसार हरेक दिन २५०० क्रेट गोलभेंडा पोखरा जान्थ्यो, तर शनिबार र आइतबार त्यसतर्फ गोलभेंडा गएन । बरु सडकमा फाले, सामाजिक सञ्जालमा फोटो तथा भिडियो हाले ।
गोलभेंडा फाल्ने किसान कि व्यापारी ?
फलफूल तथा तरकारी थोक बजार व्यवसायी संस्थाका अध्यक्ष गीता आचार्यले भने किसानले तरकारी फालेको दाबी गरे । किसानले उत्पादन गरेको वस्तुले मूल्य नपाएपछि बाध्य भएर सडकमा तरकारी फ्याँक्नु परेको उनको दाबी छ ।
‘मूल्य नपाएपछि किसानले तरकारी फ्याँकेका हुन्’ उनले भने, ‘रामकोट, चन्द्रागिरि, थानकोट, नागार्जुन लगायत क्षेत्रमा फलेको गोलभेंडा बिक्री भएन ।’ एक हजार क्रेट गोलभेंडा पोखेको उनको दाबी छ । गोलभेंडा फ्याँक्ने कार्यमा संलग्न व्यापारी भरत खतिवडा, उत्पादकले ५ हजार क्रेट गोलभेंडा पोखेको दाबी गरे ।