बैतडी नरेश नायक- सुदूरपश्चिमका पहाडि जिल्लाका बिद्यार्थीहरुमा अनौठो किसिमको रोग देखा परेको छ । पछिल्लो केही वर्षदेखि पहाडि जिल्लाका बिद्यालयहरुमा बिद्यार्थीहरुमा अनौठा किसीमका लक्षणहरु देखा पर्न थालेको हो । बिद्यार्थीहरु एक्कसी बेहोस हुने रुने, कराउने लगायतका विभिन्न किसिमका रोग देखा परेको बिद्यालयका प्रधानाध्यापकहरुले बताएका छन् ।
शुक्रबार बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर १ स्थित डुग्रिखान माध्यामिक विद्यालयका विद्यार्थीहरु बेहोस भए । एक जना बेहोस भएपछि सँगै भएका अन्य विद्यार्थीहरु पनि फटाफट बेहोस भएको डुग्रिखान माध्यामिक विद्यालयका प्रधानाध्यापक नरेन्द्र सिंह साउँदले बताए ।
उनले भने, “गत वर्षदेखि बिद्यार्थीहरुमा यस्ता अनौठा किसिमका लक्षणहरु देखा पर्न थालेका छन् । एक बिद्यार्थीमा देखा परेपछि संगै रहेका अन्य बिद्यार्थीमा समेत एकाएक सर्ने गरेको छ । लहरै बिद्यार्थीहरु बेहोस हुने छटपटाउने लगायत अनौठा हर्कत गर्छन् ।’’
विद्यार्थीहरु रुने, कराउने, बेहोस हुने, काँप्ने, ढल्ने, मुर्छा पर्ने, चिच्याउने, हाँस्ने, दौड्ने, काँप्ने लगायतका समस्या देखा परेको साउँदले बताए ।
उनले अगाडि भने, “आफैँले आफैँलाई दाँतले टोक्छन् । छटपटाउँ छन् । अनौठा अनौठा किसिमका हर्कत गर्छन् । एक जनालाई भयो भने अरुलाई पनि हुन्छ् । यसले पठनपाठनमा समस्या भइरहेको छ ।’’
सुरुमा एक जना विरामी हुने त्यसपछि लहरै अन्य विद्यार्थीहरुलाई समेत सर्ने गरेको बताईएको छ। बिद्यार्थीहरुमा अनौठो किसिमको रोग देखा पर्न थालेपछि विद्यालयको पढाइमा समेत असर परिरहेको छ । बढीजसो छात्रामा यो समस्या देखा परेको बैतडीको सिगास गाउँपालिका–५ मा रहेको शारदा मावि ढुङगाडका प्रधानाध्यापक मीनबहादुर चन्दले बताए ।
त्यहाँ पनि सोही कसिमको रोगहरु देखा परेको छ । बढी जसो छात्राहरूमा रुने, कराउने र बेहोस हुने समस्या देखा पर्ने गरेको छ ।
१३–१४ वर्षका बालबालिकाहरुमा यस्तो किसिमको लक्षणहरु देखा परेको हो । तर यस्ता लक्षण देखा पर्नुको कारण पत्ता लाग्न सकेको छैन् ।
पछिल्लो केही वर्षदेखि सुदूरपश्चिमका अधिकासं विद्यालययहरुमा यस्तो अनौठो किसिमको लक्षणहरु देखा परेको छ । धेरैले यसलाई देविदेवताका कारण भएको तथा भुतप्रेत हुन सक्ने अनुमान गरेका छन् ।
तर बिद्यार्थीहरुमा यस्ता किसिमका लक्षण देखिनुमा मानसिक समस्या रहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।
उनले मास हिस्टोरीयाका कारण यो रोग भएको बताए । मास हिस्टोरीयाका कारण बिद्यार्थीहरुमा यस्ता किसिमका लक्षणहरु देखिने गरेको उनको भनाइ छ । तर यो धेरै ठुलो घातक र समस्या निम्त्याउने खालको रोग नभएको उनले बताए ।
उनले भने, “यो एक मानसिक समस्या हो । यसले ठुलो घातक र समस्या निम्त्याउँदैन तर यसको सामाधान खोज्नु पर्छ । सुरुमा पहिला एक जनामा देखिने यो लक्षणले उसलाई कहिले काहीँ विगतमा मानसिक स्वास्थ्य सम्बन्धि समस्या भएको हुन्छ । सो समस्या अरुलाई व्यक्त गर्न तथा भन्न नसकेका कारणले यस्तो किसिमको लक्षणहरु देखिन्छ, र सोही लक्षणको माध्यमबाट अरुलाई व्यक्त गर्छ । त्यसकै सिको भएर अन्यमा पनि यो लक्षण देखिन्छ ।’’
बढी जसो यो समस्या १३–१४ बर्षका छात्राहरुमा देखिने गरेको बताइएको छ ।
के हो यसको उपचार ?
यस्ता लक्षण देखिएका बिद्यार्थीहरुलाई छुट्टा–छुट्टै ठाउँमा राखेर मनोसामाजिक परामर्श दिनुपर्ने भट्टले बताए ।
उनले भने, “लक्षण देखिएका बालबालिकाहरुलाई अलग–अलग आइसोलेशनमा राखेर मनोसामाजिक परामर्श दिनुपर्छ । जो पहिलो बच्चा हो त्यसलाई पनि अलग्गै राखेर एकान्तमा उसको विक्तृत अन्तरवार्ता लिनुपर्छ । कुन किसिमको मनोसामाजिक समस्या छ कारण पत्ता लगाएर सोही अनुसार औषधि उपचार गरी मनोसामाजिक परामर्श दिनुपर्छ ।’’
समयमै स्थानीय तहले १-२ जना मनोसामाजिक दाताहरुलाई बोलाएर केहीदिनसम्म पालिकामै राखेर बिरामी बच्चाहरुको छुट्टा–छुट्टै मनोपरामर्श दिनु पर्ने उनले बताए ।