

प्रधानमन्त्री पुष्पकमल ‘प्रचण्ड’ले आज मेलम्ची खानेपानी आयोजनाको निरीक्षण गरे।
बिहान स्थलमार्ग हुँदै आयोजनाको बाँध क्षेत्र अम्बाथान पुगेका प्रधानमन्त्रीले बाढीले परियोजनामा पुर्याएको क्षति र निर्माणबारे जानकारी लिएका छन्।
त्यसक्रममा मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी अधिकृत कमलराज श्रेष्ठले यसपटक साउन र भदौ महिनामा पानी पथान्तरण बन्द गर्नुपर्ने प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका छन्।
‘साउन र भदौ महिनामा काठमाडौंमा पानी नपठाउने कि भन्ने ब्रिफिङ गर्यौं,’ श्रेष्ठले भने, ‘अहिले निर्णय नै भएको भने होइन।’
पानी पथान्तरणको स्थायी व्यवस्थापन नभइसकेकाले वर्खाको दुई महिना पानी पथान्तरण रोक्ने कि भन्ने ढंगको ब्रिफिङ गरेको श्रेष्ठले बताए।
अहिले सुरूङको मुखमा ढुंगा र गेग्रान नछिर्ने उपकरण राखेर अस्थायी तवरले पानी पथान्तरण भइरहेको छ।
दुई वर्षअघि भ्रेमाथाङको भेलबाढीका कारण परियोजनाको मुख्य बाँध क्षेत्र सुरुङ र तटीय क्षेत्र तहसनहस पारेको थियो।
बाढीको दुई वर्षसम्म पनि बाँध क्षेत्रको थेग्रिनी हटाइएको छैन। इन्टेक पुरिएकाले अहिले अस्थायी तरिकाले दैनिक १७ करोड लिटर पानी काठमाडौंमा पथान्तरण गरिएको छ।

अघिल्लो वर्ष बर्खायाममा सुरुङ बन्द गरिएको थियो।
यसपटक मनसुनयाममा पनि पानी पथान्तरण गर्ने तयारी सरकारको छ।