हरिश भट्ट काठमाडौँः आफ्नो स्थापना दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर एकसाथ घण्टी बजाउने भएको छ।
आफ्ना कमिटी र शुभचिन्तकलाई ७ असार साँझ ७ बजे ७७ पल्ट घण्टी बजाउन सो पार्टीका सभापति रवि लामिछानेले आव्हान गरेका हुन्। यसरी घण्टी बजाएको भिडियो सामाजिक सञ्जालमा ह्यासट्यागसहित पोस्ट गर्न उनले आग्रह गरे। ‘ह्यासट्याग बज्यो घण्टी, ह्यासट्याग अब दुईतिहाइ राखेर पोस्ट गर्नुहुन म हार्दिक अनुरोध गर्दछु’, शनिबार एक भिडियो सन्देशमा लामिछानले भने।
गत वर्ष ७ असारमा रास्वपा गठन भएको थियो। घण्टी रास्वपाको चुनाव चिन्ह हो। मंसिर २०७९ मा भएको प्रतिनिधिसभा चुनावमा रास्वपाले प्रत्यक्ष र समानुपातिक गरी २० सिट जितेको थियो। २०८० सालमा भएको उपचुनावमा पनि सिट थपेसँगै उसको सिटसंख्या २१ पुगेको छ।