काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा जवाफी बहस सकिएको छ। मुद्दामा सरकारी वकिल र जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ र अधिवक्ता स्वागत नेपालले बहस गरेका थिए।
कानुन व्यवसायीहरूले अभियुक्तहरूलाई थुनामै राखेर मुद्दालाई अघि बढाउनुपर्ने तर्क गरेका छन्। उनीहरूले धरौटीमा तथा तारेखमा छोड्दा प्रमाण नष्ट हुने र जाहेरीकर्तालाई जोखिम हुने भन्दै अभियुक्तहरूलाई थुनामा राख्न आदेशको माग गरेका छन्।
मुद्दामा आरोपीका तर्फबाट बहस सकिएसँगै आज सरकारी वकिलका तर्फबाट जवाफी बहस भएको हो। जवाफी बहस सकिएकाले आजै थुनछेक आदेश आउने बताइएको छ। सो प्रकरणमा १८ जना पक्राउ परेका छन्।
अभियुक्तका वकिलले उठाएको कानुनी प्रश्नको जवाफ दिन दिउँसो १ बजेसम्मका लागि समय तोकिएको थियो।
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले बुझाएको प्रतिवेदनका आधामा जिल्ला सरकारी वकिलको कार्यालयले जेठ १० गते जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको थियो । त्यसपछि आरोपीको बयान सकेर जेठ २१ गतेबाट थुनछेक बहस सुरु भएको हो । तीन दिन सरकारी वकिल र उजुरीकर्ताको तर्फबाट बहस भएपछि प्रतिवादीका तर्फबाट वकिलले बहस गरका थिए ।
उक्त प्रकरणमा प्रहरीले पूर्वगृहमन्त्री बालकृष्ण खाण,पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, सोही घटनामा मुछिएर निलम्वनमा परेका सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा इन्द्रजित राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाललगायत १८ जनालाई पक्राउ गरी हिरासतमा राखेको छ ।
शरणार्थी प्रकरणमा ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ । उनीहरुविरुद्ध कीर्ते, ठगी, सङ्गठित अपराध, एकीकृत कसुरसमेत गरेकाले सोहीअनुसार सजायाको माग दाबीसहित मुद्दा दर्ता गरिएको थियो । कैदका साथै २८ करोड ८१ लाख बिगोसमेतको माग गरिएको छ ।