बैतडी- बिहिबार बिहान बैतडीको शिवनाथ गाउँपालिका वडा नम्बर ५ का प्रमल सिंह साउँद छोरीलाई लिएर उपचारका मेलौली स्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा आए ।
लडेर हातमा चोट लागेकी छोरीलाई बोकेर ३।४ घण्टासम्म पैदल हिन्दै उनी उपचारका लागि स्वास्थ्य केन्द्रमा पुगे । हातको एक्सरे गरेर उपचार गर्नुपर्ने भन्दै डक्टरले सुझाव दियो । तर स्वास्थ्य केन्द्रको एक्सरे सेवा बन्द हुँदा विना एक्सरे सामान्य औषधि लिएर घर साउदले फर्किको बताए ।
उनले भने,“छोरीको हातमा चोट लागेर सुजन भएको छ । एक्सरे हुन्छ भनेर केशरपुर स्वास्थ्य केन्द्रमा लगेँ तर त्यहाँ एक्सरे सेवा बन्द रहेछ । फर्केर घर आयौँ । अब डडेल्धुरा लग्नुपर्ने बाध्यता आयो ।’’
साउँद जस्तै सिवनाथकै कस्तुरा धनाडी पनि एक्सरे नगरेरै घर फर्किइन् । खुट्टामा चोट लागेर उनी पनि ३।४ घण्टा पैदल हिन्दै स्वास्थ्य केन्द्रमा पुगेकी थिइन् । उनी पनि एक्सरे विना सामान्य औषधि लिएर घर फर्किइन् ।
उनले भनिन्, “एक्सरे गर्नुपर्ने हो तर डाक्टले सामान्य औषधि दिएको छ । औषधिले ठिक नभए अन्त जानुहोला भनेको छ ।’’
केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा दैनिक ५।६ जना एक्सरे गर्नका लागि आउने गरेका छन् । तर एक्सरे सेवा बन्द हुँदा यहाँ आउने बिरामीले सास्ती खेप्नु परिरहेको छ । एक्सेरे सेवा अबरुद्ध हुदा बाहिर जानुपर्ने बाध्यता रहेको स्वास्थ्य केन्द्रमा भेटिएका एक जना बिरामी भगत बहादुर चन्दले बताए ।
छाति सम्बन्धि बिरामीलाई ल्याएर स्वास्थ्य केन्द्र पुगेका उनी पनि सामान्य औषधि लिएर फर्के । एक्सरे सेवा नहुँदा सास्त खेप्नु परेको उनको गुनासो छ ।
उनले भने, “एक्सरे गर्ने भनेर यहाँ आयौँ बन्द रहेछ । अब बाहीर जानुपर्ने बाध्यता आयो । अब खर्च बढी लाग्छ । ऋिण निकालेर यहाँसम्म आइयो उपचार भएन फेरी अर्को ठाउँ जानुपर्यो फेरी ऋिण निकाल्नु पर्छ धेरै सास्ती भइरहेको छ ।’’
विद्युत अबरुद्ध हुँदा स्वास्थ्य सेवा प्रभावित
मेलौलीमा विगत तीन हप्तादेखि बिद्युत अबरुद्ध छ । जसको असर केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा समेत परेको छ । विद्युत अबरुद्धकै कारण एक्सरे लगायत विद्युतिय माध्यमबाट उपचार गरिने सबै सेवाहरु प्रभावित भएका हुन् ।
विद्युत अबरुद्धका कारण बीरामीहरुको सेवा प्रवाहमा समस्या भइरहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीका डा. सन्जिन केसीले बताए । टाढा टाढाबाट बिरामीहरु एक्सरे गर्न आउने भएपनि विद्युत अबरुद्ध हुँदा सेवा दिन नसकिरहेको उनले बताए ।
उनले भने, “एक्सरे सेवा धेरै नै प्रभावित भइरहेको छ । टाढा–टाढाबाट बिरामी आइरहेका हुन्छन् तर विद्युत नहुँदा सेवा दिन सकिरहेको छैन् ।’’
स्वास्थ्य केन्द्रमा सोलार जडान त गरिएको छ तर त्यसले पावर धान्न नसकिरहेको उनले बताए । विद्युत अबरुद्ध हुँदा प्रसुती सेवा समेत प्रभावित भइरहेको छ । अक्सिजनका लागि समेत समस्या भइरहेको छ ।
जनशक्ति आभाव
केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा जनशक्तिको समेत अभाव रहेको पाइएको छ । जनशक्ति अभाव हुँदा पनि बिरामीको उपचारमा समस्या भइरहेको डा. केसीले बताए ।
बिरामीहरुको चाप बढी तर जनशक्ति कम हुँदा सेवा प्रवाहमा समस्या भइरहेको उनले बताए । उनका अनुसार रेडियोग्राफर, स्टाफनर्स र ल्यावमा जनशक्ति अभाव छ ।
उनले भने, “जनशक्तिको एकदमै अभाव छ तर पनि जसोतसो सबै स्टाफ मिलेर सेवा दिरहेका छौँ। बिरामीको चप बढी छ तर जनशक्ति कम छ । रेडियोग्राफर, स्टाफनर्स र ल्यावमा जनशक्ति थपे उपचारमा सहज हुनेथियो ।’’
तल्लो स्वराड क्षेत्रका बिरामी तथा डडेल्धुराका बिरामीहरु समेत उपचारका लागि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौली आउने गरेका छन् ।
तर बिद्युत अबरुद्ध हुँदा र जनशक्ति अभाव हुँदा समस्या भरहेको हो । स्वास्थ्य संस्था हेर्ने जिम्मा पाएको नगरपालिका संग वैकल्पीक स्रोत साधनका लागि कुनै योजनानै छैन् ।
मेलौली नगरपालिकाका स्वास्थ्य शाखा संयोजक नारायन चन्दले बत्ती न आए थप सोलार जडान गर्ने बताए ।
उनले भने, “सुर्नयाबाट आउने बिद्युत बिग्रेको छ । मर्मत भइरहेको छ । यदि लामो समयसम्म बत्ति नआए थप सोलार जडान गर्नेछौँ।’’
चन्दले दरबन्दी अनुसार जनशक्ति भएपनि बिरामीको चाप बढ्दा थप कर्मचारी राख्न नगरपालिकासंग माग गरिने बताए ।
उनले भने, “अहिले जनशक्ति थप्नका लागि केही छैन् । ब नया आर्थिक वर्षमा बिरामीको चाप अनुसार कर्मचारी थप गर्न माग गरिरहेका छौँ।’’
स्वास्थ्य केन्द्रमा एक्सरे सेवा सञ्चालन भएपछि यस क्षेत्रका नागरिकलाई सहज भएको थियो । तर बत्ती नहुँदा फेरी बाहिर जानुपर्ने बध्यता आएको गुनासो गरिएको छ । विगत तीन हप्तादेखि सुर्नयागाढ चौथो लघुजलविद्युत परियोजना अबरुद्ध छ ।