प्रधानन्यायाधीशमा सिफारिस भएका न्यायाधीश हरिकृष्ण कार्कीविरूद्धका उजुरीकर्ताहरूले संसदीय सुनुवाइ समिति नै अवैधानिक भन्दै विरोध जनाएका छन्।
बुधबार संसदीय सुनुवाइ समितिमा प्रधानन्यायाधीश सिफारिस भएका कार्कीविरूद्ध परेको उजुरीमाथि छलफल गर्ने भनिएको थियो। तर उजुरीकर्ताहरूले समिति नै अवैधानिक भन्दै विरोध जनाएका हुन्। समिति कार्यविधि राजपत्रमा प्रकाशन नगरेको भन्दै अवैधानिक भएको उनीहरूको भनाइ थियो।
अहिलेसम्म परेका उजुरीमाथि छलफल नै सुरू हुन सकेको छैन। तर अहिले छलफल कसरी अगाडि बढाउने भन्ने विषयमै छलफल चलिरहेको हो।
उजुरीकर्ताहरू सबैले बोल्न पाउनुपर्ने भन्दै माग समेत गरेका छन्।
संवैधानिक परिषदबाट सिफारिस भएका कार्कीविरूद्ध २९ वटा उजुरी परेको थियो। यस विषयमा आज छलफल गरी भोलि सुनुवाइ गर्ने तयारी समेत थियो। तर अहिलेसम्म छलफल नै सुरू हुन सकेको छैन।