काठमाडौं । पूर्व गृहसचिव खेमराज रेग्मीले गृह मन्त्रालयको नेतृत्वमा खराब व्यक्ति पुगेकै कारण नक्कली भुटानी शरणार्थी प्रकरण भएको दाबी गरेका छन् ।
आज राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा भएको राष्ट्रिय सुरक्षाको विषयमाथिको छलफलमा रेग्मीले लगायतका पूर्व प्रशासकले यस्तो दाबी गरे ।
‘त्यो अहिले जुन नक्कली भुटानी शरणार्थी काण्ड मच्चिएको छ नि, त्यो गृह मन्त्रालयको नेतृत्वमा खराब व्यक्ति पुगेकै परिणाम हो’, रेग्मीले भने, ‘अब त यहाँ के भयो भने गृहमन्त्री, गृहसचिव स्वयम नै नेपाली जनतालाई शरणार्थी बनाएर तेस्रो मुलुकमा पठाउने काम गर्नुभयो । भनेपछि यहाँ भन्दा निकृष्ठ काम गृह मन्त्रालयमा के हुनसक्छ ?’
रेग्मीले अन्य मन्त्रालयले नक्कली भुटानी शरणार्थी प्रकरणमा बदमासी गरेको भए पनि गृह मन्त्रालयबाटै यस्तो खालको निकृष्ठ काम हुनु दुःखद भएको बताए ।
उनले भने, ‘अर्को कुनै सहकारी मन्त्रालयले यस्तो काम गर्न सक्थ्यो भने त्यसलाई सामान्य रुपमा पनि लिन सकिन्थ्यो । गृह मन्त्रालयले नागरिकको सुरक्षा गर्ने अविभावक मन्त्रालय पो हो । जो पायो त्यहि व्यक्तिलाई गृह मन्त्रालयको सचिव बनाउने, सहसचिव बनाउने र प्रमुख जिल्ला अधिकारी बनाउने गरेकाले यो निकृष्ठ काम भएको हो ।’
पूर्व सचिव रेग्मीले पञ्चायत कालमा समेत सहजै गृह मन्त्रालय सचिव वा सहसचिव तथा प्रमुख जिल्ला अधिकारी हुन नपाइने गरेको स्मरण गर्दै भने, ‘पञ्चायत कालमा मैले डेढ महिनाभन्दा बढी समय स्टाफ कलेजमा प्रहरीको तालिम लिएर बल्ल प्रमुख जिल्ला अधिकारी भएको हो । एकैपटक सीडीओ हुन पाइदैँन थियो । त्यो पहिले गृह मन्त्रालय अन्तर्गत सहायक अञ्चलाधीश, सहायक सीडीओ अथवा गृह मन्त्रालय मातहतको कुनै पदमा काम गरेर केहि विज्ञता हासिल गरेपछि अनि मात्रै बल्ल तालिम दिएर सीडीओ बनाइन्थ्यो । सीडीओलाई त्यति महत्व दिइएको अवस्था थियो ।’
तर, अहिले भने जो सुकै व्यक्ति र जहाँ बसेको व्यक्तिलाई पनि प्रमुख जिल्ला अधिकारी, गृह मन्त्रालयको सहसचिव र सचिवको जिम्मेवारी दिने गरेकाले नक्कली भुटानी शरणार्थी जस्ता प्रकरण निम्तिएको पूर्व सचिव रेग्मीको भनाई छ ।
उनले भने, ‘अहिले त कृषि पढेका मान्छेलाई संस्कृतिमा पठाइदियो भने के हुन्छ ? त्यसै कारण प्रमुख जिल्ला अधिकारी, गृह मन्त्रालयका सहसचिव वा गृह सचिवको जिम्मेवारी दिदाँ शान्ति सुरक्षा कामय गर्न सक्ने यसै क्षेत्रको विज्ञ व्यक्तिलाई नेतृत्वको दिनुपर्छ ।’
नक्कली भुटानी शरणाथी प्रकरणमा मुछिएका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई लक्षित गरेर पूर्व प्रशासकले प्रश्न उठाएका हुन् । शिक्षा सेवा अन्तर्गत विद्यालय निरीक्षक (बिनी)बाट सरकारी सेवामा प्रवेश गरेका पाण्डे २०६५ सालमा उपसचिव बनेपछि शिक्षा विभाग र पाठ्यक्रम विकास केन्द्र, शैक्षिक जनशक्ति विकास केन्द्र र शिक्षा विभाग हुदैँ गृह मन्त्रालयमा सचिव हुदाँसम्म मन्त्रालय मातहत कुनै समय पनि बसेका थिएनन् ।