काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली इतिहासले यतिबेला सबैको परीक्षा लिइरहेको बताएका छन्। सोमबार बिहान ट्विटरमार्फत भट्टराईले विवेकको प्रयोग गरेर आ-आफ्नो कित्ता रोज्ने बेला आएको बताएका हुन्।
परिवर्तनकारी शक्ति र व्यक्तिहरू इतिहासको प्रतिक्रान्तिकारी/कट्टरपन्थी धारविरूद्ध उभिएर समाजलाई अग्रगामी बाटो देखाउने बताउँदे भट्टराईले यथास्थितिवादीहरु परिस्थितिको दास बन्ने धारणा राखे।
‘जिउँदो माछा पानीको धार/छालविरूद्ध पौडिन्छ। मरेको माछा धार/छालसँगै बग्छ। परिवर्तनकारी/अग्रगामी शक्ति र व्यक्तिहरू समय वा इतिहासको प्रतिक्रान्तिकारी/कट्टरपन्थी धार/छालविरूद्ध उभिन्छन्, लड्छन्; समाजलाई अग्रगामी बाटो देखाउँछन्।’ उनले लेखेका छन्, ‘यथास्थितिवादी/अवसरवादी शक्ति र व्यक्तिहरू समय वा परिस्थितिको दास बन्दै त्यसै अनुरूप रंग बदल्छन्, बग्छन्; भीडको पछि दौडन्छन्। युगीन संकट र सम्भावनाको दोसाँधमा उभिएको वर्तमान विश्व र नेपाली इतिहासले यतिबेला सबैको परीक्षा लिँदैछ। विवेकको प्रयोग गरौं; आ–आफ्नो कित्ता रोजौं।’