बैतडीको पञ्चेश्वर गाउँपालिका १ मा रहेको पञ्चेश्वर स्वास्थ्य चौकीको सुत्केरी सेवा बन्द गरिएको छ । पानीको अभावमा स्वास्थ्य चौकीले चौँबिसै घण्टा प्रदान गर्दै आएको सुत्केरी सेवा आइतबारदेखि बन्द गरिएको हो ।
स्वास्थ्य चौकी इन्चार्ज सुरेश सार्कीले खानेपानीको अभावमा सुत्केरी सेवा दिन नसकिने भएकाले स्वास्थ्य व्यवस्थापन समितिको रहोबरमा अर्को व्यवस्था नभए सम्मका लागि बन्द गरिएको जानकारी दिए ।
‘स्वास्थ्य संस्थामा पानी अनिवार्य हो, आज सम्म आकाशे पानी जमा गरेर सेवा दिदै आएका थियौँ’, उनले भने ‘जमा गरिराखेको पानी सकियो सेवा दिन नसकिने भएपछि बन्द गरेका हौ’ ।
प्रत्येक महिना ८÷९ जना महिलाहरु पञ्चेश्वर स्वास्थ्य चौकीमा सुत्केरी हुन आउने गरेका छन् । स्वास्थ्यचौकी हुँदै अर्को टोलमा पाइप लाइन गएपनि स्वास्थ्य चौकीलाई नदिएपछि सुत्केरी सेवा बन्द गर्नुपरेको जनाइएको छ ।
स्वास्थ्यचौकीमा खानेपानीको व्यवस्थापन माग गर्दा समेत कसैले चासो नदिएको इन्चार्ज सार्कीले बताए ।
