काठमाडौं । नेकपा एमालेले भोलिबाट सदन अवरोध गर्ने चेतावानी दिएको छ । कोशी प्रदेशमा पहिचानवादीले एमाले नेता कार्यकर्तामाथि आक्रमण भएको भन्दै एमालेले सदन चल्न नदिने चेतावनी दिएको हो ।
एमालेका प्रमुख सचेतक पदम गिरीले प्रतिनिधि सभाको बैठकमा बोल्दै भने, ‘नेकपा एमालेका नेता कार्यकर्तालाई लक्षित गर्दै, हाम्रो शान्तिपूर्ण कार्यक्रममा ढुंगामुडा गर्ने र आतंकित गर्ने काम सरकारमै रहेका सत्तारुढ पार्टीका कार्यकर्ताबाट भइरहेको छ । हाम्रो पार्टीको अध्यक्षमाथि पनि घटना भएको थियो । हामीले संसदमा जानकारी गराएका थियौं । आज पनि कोशी प्रदेशको हाम्रो संसदीय दलको उपनेता राम रानामाथि घेराबन्दी गरेर मोबिल छर्केर आगो लगाउने प्रयास भयो इलाममा। कोशी प्रदेशका सभामुख सिर्जना दनुवारमाथि पनि ढुंगामुढा भएको छ ।’
सत्तापक्षकै व्यक्तिहरुको संलग्नतामा आतंक सिर्जना गर्ने काम भइरहेको आरोप लगाए। एमाले नेताहरुमाथि भएको घटना निन्दनिय रहेको जिकिर गर्दै अब सहन नसक्ने बताए ।
उनले भने, ‘हामीमाथि निरन्तर यो प्रकारले हमला हुन्छ भने हामी प्रतिवाद छौं । आक्रमणमा कोको थिए भन्ने सरकारले सदनलाई जानकारी गराओस्। नत्र हामी भोलिबाट सदन चल्न दिँदैनौं ।’