पारिश्रमिक वृद्धिको माग गर्दै बैतडीमा शिक्षक आन्दोलनमा उत्रिएका छन्।
पारिश्रमिक वृद्धिको माग गर्दै आन्दोलनमा रहेका विद्यालय कर्मचारीहरुको समर्थनमा नेपाल शिक्षक संघ बैतडीले पनि ऐक्यबद्धता जनाएको छ। यही जेठ २१ गतेदेखि आन्दोलनमा रहेका शिक्षकहरुको आन्दोलनमा आफूहरुको साथ रहेको नेपाल शिक्षक संघ बैतडीका सचिव नारायणदत्त जोशीले बताए।
सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा विद्यालय कर्मचारीको पारिश्रमिक वृद्धि गर्ने लगायतका कुराहरु गरेको भएपनि बजेटबाट त्यो कुरा सम्बोधन नगरेकाले विद्यालयका कर्मचारीहरु देशैभरी आन्दोलनमा उत्रेका छन्। बैतडीमा विद्यालय कर्मचारीहरुले शिक्षा विकास तथा समन्वय इकाइको कार्यालयमा धर्ना दिनुका साथै नाराजुलुस समेत गरिरहेका छन्। आफूहरुका माग पूरा नभए विद्यालयनै बन्द गरेर आन्दोलनमा उत्रने शिक्षकहरुले चेतावनी दिएका छन्।
विद्यालय कर्मचारीहरुका जायज मागहरु सरकारले पूरा गर्नुपर्ने भन्दै शिक्षक संघले सरकारको ध्यानाकर्षण समेत गराएको छ। नेपाल शिक्षक संघ बैतडीले विज्ञप्ती निकालेर विद्यालय कर्मचारीका मागहरु तत्काल सम्बोधन गर्न जोडदार माग गरेको छ।
